काठमाडौं- नेपालमा ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ सुरु भएको छ।
‘मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध’ भन्ने मूल नारासहित आयोजित प्रदर्शनीले चिनियाँ वुसिया (मार्शल आर्ट) चलचित्रको सौन्दर्यशास्त्र, वीरता र आधुनिक प्रविधिको संगम प्रस्तुत गरेको छ। प्रदर्शनीले आधुनिक इमेजिङ प्रविधि र डिजिटल सौन्दर्यशास्त्रमार्फत नेपाल र चीनका चलचित्रकर्मी तथा युवा विद्यार्थीबीच अन्तरसांस्कृतिक संवादको वातावरण सिर्जना गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल र चीनका चलचित्रकर्मी, सांस्कृतिक विद्वान् तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले पूर्वीय कथावाचनका नयाँ सम्भावना र बदलिँदो प्रविधिले सिर्जना गरेका अवसरबारे विचार आदानप्रदान गरेका थिए।
प्रदर्शनीअन्तर्गत नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सहकार्यमा ‘एआई फिल्म कार्यशाला’ पनि आयोजना गरिएको थियो। चाइना मिडिया ग्रुपको फिल्म च्यानलअन्तर्गत हाङ्झाउ आधारका एआईजीसी अनुसन्धानकर्ता पिटर प्यानले अतिथि प्रशिक्षकका रूपमा सहभागी हुँदै एआईमार्फत तस्बिरलाई भिडियोमा रूपान्तरण गर्ने प्रक्रिया र त्यसका सिर्जनात्मक पक्षबारे जानकारी दिएका थिए। उनले अत्याधुनिक प्रविधिले दृश्य सौन्दर्यलाई कसरी पुनर्परिभाषित गरिरहेको छ भन्ने विषयमा समेत प्रकाश पारे।
कार्यक्रम चीन, नेपाल र भारतका सांस्कृतिक तत्वहरूको संयोजनमा तयार गरिएको एआई प्रचार भिडियो प्रदर्शनबाट सुरु भएको थियो। त्यसपछि केसन हेले अनलाइनमार्फत सहभागी हुँदै चाइना मुभी च्यानल हाङ्झाउ स्टुडियोको एआई चलचित्र परियोजना ‘लियाओ झाइ २०७९’ बारे जानकारी गराए। उनले एआई ट्रेलरको प्राविधिक संरचना र सिर्जनात्मक अवधारणाबारे चर्चा गर्दै कृत्रिम बुद्धिमत्ताले परम्परागत वुसिया कथालाई नयाँ ढंगले प्रस्तुत गर्न सक्ने सम्भावनाबारे बताए।
कार्यक्रममा चीन र नेपालका चलचित्रविद्हरूबीच परम्परागत सौन्दर्यलाई समकालीन परिवेशमा कसरी अभिव्यक्त गर्न सकिन्छ तथा विश्वव्यापीकरणले यस क्षेत्रको विकासका लागि सिर्जना गरेका अवसरबारे छलफल भएको थियो। सहभागीहरूले विविध संस्कृतिका कथाहरूलाई विश्वसामु प्रस्तुत गर्ने नयाँ सम्भावनाबारे अनुभव आदानप्रदान गरेका थिए।
प्रदर्शनीमा चिनियाँ चलचित्र इतिहासकै सर्वाधिक आम्दानी गर्ने वुसिया चलचित्र ‘ब्लेड्स अफ द गार्डियन्स : विन्ड राइजेस इन द डेजर्ट’ प्रदर्शन गरिएको थियो। डिजिटल दृश्य प्रभाव र एनिमेसन प्रविधिको प्रयोगमार्फत निर्माण गरिएको चलचित्रले एक रहस्यमय बालकको सुरक्षाका लागि संघर्षरत मरुभूमिका सुरक्षाकर्मीको जीवन–मरणको यात्रालाई प्रभावशाली रूपमा चित्रण गरेको छ। साथै, चिनियाँ वुसिया परम्परामा रहेको ‘जुनसुकै मूल्य चुकाएर पनि वचन पूरा गर्ने’ नैतिक आदर्शलाई समेत चलचित्रले उजागर गरेको छ।
प्रदर्शनपछि आयोजित ‘निर्मातासँग संवाद’ कार्यक्रममा चलचित्रका निर्माता लिउ दीले मोसन क्याप्चर र भर्चुअल प्रोडक्सन प्रविधिको प्रयोगबारे जानकारी दिए। उनले डिजिटल प्रविधिले स्थानीय कथावाचनका आयाम विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रविधि र कलाको संयोजनले सिर्जना गरेका नयाँ सम्भावनाबारे चर्चा गरे।
यसैबीच, कलात्मक ढंगले डिजाइन गरिएका चलचित्र सामग्री तथा सांस्कृतिक उत्पादनहरू समेटिएको ‘वुसिया फेयर’ ले दर्शकलाई अन्तरक्रियात्मक सांस्कृतिक अनुभव प्रदान गरेको थियो।
त्रिभुवन विश्वविद्यालयमा सम्पन्न प्रदर्शनीको पहिलो चरणले वुसिया संस्कृति, चलचित्र प्रविधि र एआईको प्रयोगबारे उत्साहपूर्ण बहस सिर्जना गरेको आयोजकको भनाइ छ। कार्यक्रममा सहभागी प्राध्यापक तथा विद्यार्थीहरूले आधुनिक इमेजिङ प्रविधिको प्रयोगमार्फत चिनियाँ वुसिया चलचित्रले सिर्जना गरेको दृश्य प्रभावबाट आफूहरू प्रभावित भएको प्रतिक्रिया दिएका थिए। उनीहरूका अनुसार परम्परागत सौन्दर्यशास्त्रको पुनर्कल्पना र पुनर्निर्माणले स्थानीय कथावाचनका लागि पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ।
आयोजकका अनुसार प्रदर्शनी केवल चलचित्र प्रदर्शनमा सीमित नरही सभ्यता, संस्कृति र सिर्जनात्मक सोचबीचको आदानप्रदानको महत्वपूर्ण मञ्च बनेको छ। प्रविधि, कला र कथावाचनको माध्यमबाट नेपाल र चीनका चलचित्रकर्मी तथा युवापुस्ताबीच सम्बन्ध थप सुदृढ बनाउन प्रदर्शनीले योगदान पुर्याएको बताइएको छ।
प्रतिक्रिया