काठमाडौं– सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरूको व्यापक सरुवा गर्दै अधिकांश मन्त्रालयमा एकल सचिवको व्यवस्था लागू गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवहरूको जिम्मेवारी हेरफेरसँगै केही मन्त्रालयमा दोहोरो सचिव व्यवस्था अन्त्य गरिएको हो।
सरुवा सूचीअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रशासन हेर्ने सचिव डिल्लीराम शर्मा, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौड्याल, उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव हरिप्रसाद मैनाली तथा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
सरकारको निर्णयसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. विकास देवकोटा एकल सचिवका रूपमा रहने भएका छन्। अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ भने अर्थ मन्त्रालयमा घनश्याम उपाध्याय एकल सचिवका रूपमा कायम रहनेछन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सामान्य प्रशासन हेर्ने सचिव चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। भूमि व्यवस्था मन्त्रालयमा भने मदन भुजेल एकल सचिव बनेका छन्।
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा राजेन्द्रप्रसाद मिश्र तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा चूडामणि पौडेल एकल सचिवका रूपमा कार्यरत रहनेछन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका ऊर्जा सचिव चिरञ्जीवी चटौतलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ। ऊर्जा मन्त्रालयमा सरिता दवाडी एकल सचिव रहने भएकी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कृष्णबहादुर राउत यथावत् रहेका छन्।
त्यसैगरी राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा पठाइएको छ भने जल तथा ऊर्जा आयोगका सचिव दिननाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।
नेपाल ट्रष्टको कार्यालयकी सचिव प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सरुवा गरिएको सरकारले जनाएको छ।
सरकारले सचिवहरूको जिम्मेवारी पुनः व्यवस्थित गर्दै प्रशासनिक संरचनालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो निर्णय गरिएको बताइएको छ।
प्रतिक्रिया