काठमाडौं- ग्लोबल आईएमई बैंक र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई (किस्ताबन्दी) सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य भएको हो ।
सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन ।
ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ ।
यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने छ ।
साथै, यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।
भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । सुरुवातमा यो कार्ड बीबीएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।
उक्त कार्डमार्फत् ग्राहकले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाका लाभ लिन सक्नेछन् ।
ग्लोबल आईएमई बैंक र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रवद्र्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभ दिने उद्देश्य लिइएको बैंकले जनाएको छ ।
दुबै संस्थाले अगामी दिनमा संयुक्त रुपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजना सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको छ ।
प्रतिक्रिया