काठमाडौं- नेपाल सरकारले सेयर लगानी गरेका संस्थानको संख्या ४५ रहेको छ । तीमध्ये शत प्रतिशत सेयर स्वामित्व रहेका संस्थान भने २० वटा रहेका छन् ।
आर्थिक वर्ष २०८१/८२ सम्म अस्तित्वमा रहेका ४५ संस्थानमध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २५ वटामा सरकारको स्वामित्व रहेका अन्य निकायको अधिक सेयर (५० प्रतिशतभन्दा बढी स्वामित्व)मा रहेका छन् ।
सरकारले ३२ वटा सार्वजनिक संस्थानमा ९० प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व राखेको छ भने ३६ वटा संस्थानमा ६० प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व कामय राखेको छ ।
सामाजिक क्षेत्रका सांस्कृतिक संस्थान, गोरखापत्र संस्थान, जनक शिक्षा सामाग्री केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल र राष्ट्रिय आवास कम्पनीमा सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र धौबादी फलाम कारखानामा सरकारको शतप्रतिशत सेयर लगानी छ ।
व्यापारिक क्षेत्रका चार वटा संस्थानमध्ये खाद्य तथा व्यापार कम्पनीमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । सेवा क्षेत्रका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेसनल कन्स्ट्रक्सन कम्पनी, नेपाल रेल्वे कम्पनी, नेपाल पूर्वाधार निर्माण कम्पनी र नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडमा सरकारको शतप्रतिशत स्वामित्व छ ।
जनोपयोगी क्षेत्रतर्फ नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको पूर्ण स्वामित्व रहेको छ । वित्तीय क्षेत्र तर्फ नेपाल सरकारको पूर्ण स्वामित्व भएका सार्वजनिक संस्थान छैनन । यद्यपी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा सरकारको स्वामित्व ९९.९७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानको चुक्ता पूँजी गत आर्थिक वर्षको तुलनामा २.३८ प्रतिशतले बढेर कुल ४ खर्ब ३७ अर्ब ८० करोड १२ लाख पुगेको छ ।
सार्वजनिक संस्थानमा सरकारको स्वामित्व गत आवको फागुसम्मको तुलनामा ०.२९ प्रतिशत बिन्दुले घटेर ९१.६८ प्रतिशत कायम भएको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ८.३२ प्रतिशत छ ।
प्रतिक्रिया