+
Search

ताजा अपडेट +

पपुलर +

ब्रिटिस इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच ३.८२ अर्ब कर्जा सम्झौता, महिला उद्यमीलाई सघाउने

पालिका लाइभ
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं– ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र विशेषगरी महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्न २ करोड ५० लाख अमेरिकी डलर (३ अर्ब ८२ करोड) बराबरको कर्जा सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ। कुल सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिएको छ। यसबाट वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा एमएसएमई क्षेत्रको योगदान करिब २२ प्रतिशत छ भने यसले करिब २० लाख मानिसलाई रोजगारी दिएको छ। तर, विश्व बैंक र नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार औपचारिक वित्तीय प्रणालीमार्फत केवल १६ प्रतिशत एमएसएमईले मात्र कर्जा सुविधा पाएका छन्।

बैंकले महिलाको आर्थिक सशक्तीकरणसम्बन्धी विश्वव्यापी पहल ‘टु एक्स च्यालेन्ज’ अन्तर्गत मान्यता पनि प्राप्त गरेको छ। ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट उक्त पहलको संस्थापक सदस्य हो। यसको ‘इनभेस्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रममार्फत महिला नेतृत्वका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको छ।

बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मलहोत्राले यो सहकार्यले महिला उद्यमशीलता र दिगो आर्थिक विकासलाई थप बल पुर्‍याउने बताइन्। ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका एसिया क्षेत्र प्रमुख स्रीनी नागराजनले नेपाललाई आफ्नो ‘फ्रन्टियर मार्केट’ रणनीतिको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गरे।

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले यो सहकार्यले विशेषगरी महिला नेतृत्वका व्यवसायलाई औपचारिक वित्तीय पहुँचमा जोड्न मद्दत पुग्ने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ