काठमाडौं– झन्डै दुई तिहाइको बलियो सरकार गठनपछि भएको पहिलो कारोबारमा लगानीकर्ता उत्साही हुन सकेनन्।
फागुन २१ को निर्वाचनपछि बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठन भएको थियो भने अर्थतन्त्र बुझेका अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले आए पनि सेयर बजारको पहिलो कारोबारले भने आइतबार हरियो स्वागत गर्न नसकेको हो।
यस दिन सूचकमा उछाल आउने अनुमान विपरीत ७१.०५ अंकले घट्न पुगेको हो।
यद्यपि १५ अर्बको कारोबार भने भएको छ। खासगरी सरकार गठन लगत्तै भदौ २३ र २४ को जेनजी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि विकसित राजनीतिक घटनाक्रमका कारण लगानीकर्ता सशंकित बनेको देखिएको छ।
पक्राउसँगै नेकपा एमालेले अध्यक्ष पक्राउको विरोधमा देशव्यापी आन्दोलन सुरु गरिसकेकाले पनि आगामी दिनमा के हुने भन्ने संशयले लगानीकर्ताको कन्फिडेन्स बलियो हुन नसकेको देखिएको हो।
आइतबार बजार २.४० प्रतिशतले घटेर २८७९.११ विन्दुमा झरेको छ। यस दिन ३ करोड ५२ लाख कित्ता कारोबार गरेका लगानीकर्ताले १५ अर्ब ३ करोडको खरिदबिक्री गरे। खासगरी किन्न भन्दा बेच्न उनीहरू हतारिएको देखिन्छ। नयाँ सरकारले शासकीय सुधारका सय कार्यसूची सार्वजनिक गरेको छ। जसले निजी क्षेत्रमैत्री धेरै निर्णयहरू गरेको छ।
त्यसकारण सरकारले सुरुमै राजनीतिक कुरामा ‘एक्सन’ लिँदा लगानीकर्ताहरू देशको विकसित अवस्था र अस्थिरतातर्फ जाने पो हो कि भन्ने संशयमा रहेका देखिन्छन्। यद्यपि राम्रा नीतिको अपेक्षालाई सरकारको कार्यसूचीले पूरा गरेका कारण केही दिन उनीहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको अनुमान छ।
आइतबार १० वटा सेयरको मूल्य बढेको छ। जसमा तीनवटाको सर्किट ब्रेक भएको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिजलाइन इनर्जीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले एकै दिन क्रमशः प्रतिकित्ता २०१.३०, ३६.३० र ३० रुपैयाँ आम्दानी गरेका छन्। यीबाहेक सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले पनि ९.९९ र ९.९८ प्रतिशत आम्दानी गरेका छन्।
पहिलो कारोबार दिन २५५ वटा सेयरको मूल्य भने घटेको छ। जसमा युनिक नेपाल लघुवित्त, हिमालयन बैंकको बन्ड, हिमाल दोलखा हाइड्रोपावर, अभियान लघुवित्तलगायतको अधिकतम ६.१७ प्रतिशतले मूल्य घटेको छ।
कारोबारमा भने आइतबार सबैभन्दा बढी रिडी पावरको ७१ करोडको किनबेच भएको छ। त्यसपछि ङादी ग्रुप पावरको ५२ करोड, सोलु हाइड्रोपावरको ४८ करोड, शिवम् सिमेन्टको ४७ करोड र नेशनल हाइड्रोको ४६ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
यस दिन सबै समूहमा उच्च गिरावट देखिएको छ। वाणिज्य बैंक २.७८, विकास बैंक २.८९, फाइनान्स ३.३८, होटल र पर्यटन २.२५, जलविद्युत् २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन र प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, सामूहिक लगानी कोष ०.२८, निर्जीवन बीमा २.२३, अन्य २.५२ र व्यापार ३.०१ प्रतिशतले घटेका छन्।
प्रतिक्रिया