काठमाडौं– नयाँ सरकार गठनको तयारी चलिरहेका बेला सहरी विकास मन्त्रालयका मन्त्री कुमार इङ्नामले पदबाट बिदा लिएका छन्। तर उनको बिदाइ कार्यक्रम परम्परागत रूपमा उपलब्धि र धन्यवादमा केन्द्रित नभई असन्तुष्टि, आत्मालोचना र तीखा अभिव्यक्तिले भरिएको रह्यो।
बिदाइ मन्तव्यको सुरुमै उनले आफूलाई ‘असफल मन्त्री’का रूपमा प्रस्तुत गर्दै आफ्नो कार्यकाल अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरे। जिम्मेवारी सम्हाल्दा उत्साह भए पनि प्रणालीगत अवरोध, कार्यशैली र प्रशासनिक जटिलताका कारण आफूले चाहेजस्तो परिणाम दिन नसकेको उनको भनाइ थियो। विगतमा विनियोजन भइसकेका कार्यक्रमसमेत कार्यान्वयन गर्न नसकेको उदाहरण दिँदै उनले आत्मग्लानी व्यक्त गरे र आफूलाई ‘पङ्गु मन्त्री’ को संज्ञा समेत दिए।
‘मैले केही पनि काम गर्न सकिनँ, मलाई त कालोमोसो दलेर निकालिएको भए पनि हुन्थ्यो,’ उनले कार्यक्रममा उपस्थित कर्मचारीतर्फ लक्षित गर्दै भने, ‘तीन वर्षअघि नै बजेट विनियोजन भएको आफ्नै विद्यालयको योजना कार्यान्वयन गराउन नसक्ने म कति नालायक मन्त्री रहेछु भन्ने महसुस भइरहेको छ।’
संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति पनि उनले असन्तुष्टि जनाए। ‘संसद् भवन किन समयमा बन्दैन? किन समय थपिँदै जान्छ? कर्मचारीहरू किन अटेरी गर्छन्?’ उनले प्रश्न गरे। साथै, महानिर्देशक (डीजी) सरुवा गर्न खोज्दा सचिवस्तरबाट असहयोग भएको र त्यसपछि आफूविरुद्ध घुसको आरोप लगाउँदै हल्ला फैलाइएको उनले बताए।
मन्त्रालयको नेतृत्व सम्हाल्दा ठूलो अपेक्षा र योजना भए पनि काम गर्ने वातावरण र पद्धतिले आफूलाई असफल बनाएको उनको भनाइ थियो। उनले प्राविधिक विषयको आडमा अनियमितता हुने गरेको संकेत गर्दै मन्त्रालयभित्रको कार्यप्रणालीप्रति प्रश्न उठाए।
‘प्राविधिक विषय सबैले नबुझ्ने हुँदा त्यसकै आडमा खेलोफड्को हुने रहेछ,’ उनले भने, ‘ठेकेदारसँगको नेक्सस, २ देखि ५ प्रतिशतसम्मको कमिसन सेटिङ, आर्थिक वर्षको अन्त्यमा झोला बोकेर हिँड्ने प्रवृत्ति यहाँ देखिन्छ।’ भेरिएसनलाई भ्रष्टाचारको प्रमुख माध्यमका रूपमा प्रयोग गरिने गरेको आरोप पनि उनले लगाए।
अर्थ मन्त्रालयप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। ‘अर्थ मन्त्रालयको अत्यधिक प्रभाव देखिँदो रहेछ, उसले चाहेजस्तो नियम बनाउने र निर्णय लिने प्रवृत्ति छ,’ उनले भने, ‘हरेक मन्त्रीको आफ्नो भिजन र योजना हुन्छ, तर त्यसलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले अवरोध खडा गर्ने गर्छ।’
आफ्नो कार्यकाललाई असफल भन्दै उनले आफूलाई ‘हारेको’ घोषणा गरे।
बिदाइको अन्त्यतिर उनले असहयोग गर्ने कर्मचारीलाई व्यंग्यात्मक रूपमा प्रतिक्रिया दिँदै भने, ‘ल, म हारेँ, तपाईंहरू जित्नुभयो। खुसी मनाउनुस्, भोज खानुस्। तर कुनै दिन तपाईंहरूले गरेका कामहरू जीवनकै सबैभन्दा पीडादायी क्षण बन्न सक्छन्।’
प्रतिक्रिया