काठमाडौं– इरान र अमेरिकाबीचको तनाव बढ्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक्लिएजस्तो देखिएका छन्।
इरानले होर्मुज स्ट्रेटबाट तेल आपूर्ति रोकिदिँदा विश्व अर्थतन्त्रमा असर परेको छ र ट्रम्पले नेटो देशहरूलाई यस मार्ग पुनः खुलाउन अपिल गरिरहेका छन्। तर जर्मनी, बेलायत, इटाली र अन्य युरोपेली देशहरूले सैन्य कारबाहीमा नलिन र कूटनीतिक समाधान खोज्नुपर्ने स्पष्ट पारेका छन्।
इरानले जवाफमा होर्मुज स्ट्रेटको बाटोबाट हुने तेल आपूर्ति रोकेको छ, जसले विश्व तेल बजारमा अस्थिरता ल्याएको छ। ट्रम्पले आफ्ना सहयोगी देशहरूलाई चेतावनी दिए कि यदि उनीहरूले यो समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न मद्दत गरेनन् भने नेटोको भविष्य नै संकटमा पर्न सक्छ।
‘द गार्डियन’को रिपोर्टअनुसार जर्मनीले कुनै पनि सैन्य कारबाहीमा भाग नलिने स्पष्ट पारेको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले भने, ‘इरानको वर्तमान सरकारको अन्त्य हुनु आवश्यक भए पनि बमबारीमार्फत उसलाई दबाउन खोज्नु सही बाटो होइन।’
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि यसलाई ‘युरोपको युद्ध होइन’ भन्दै अमेरिकी सैन्य दबाबलाई चुनौती दिएका छन्। उनले भने, ‘अमेरिकी नौसेना आफैँ यति शक्तिशाली छ, केही युरोपेली जहाजले के फरक पार्न सक्छन् र?’
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो देशलाई यस ठूलो युद्धमा फस्न नदिने बताए। उनले भने कि तेल आपूर्ति पुनः स्थिर पार्न होर्मुज स्ट्रेट खुलाउनु आवश्यक छ, तर यसका लागि धेरै देशहरूको सहमति आवश्यक छ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले पनि कूटनीतिक समाधानमा जोड दिए। उनले भने, ‘हाम्रो देश कुनै पनि नौसैनिक मिसनमा संलग्न हुँदैन। वर्तमान युरोपेली मिशनहरू समुद्री डकैती रोक्न र रक्षाका लागि मात्र सीमित छन्, यसलाई युद्धमा परिवर्तन गर्न सकिँदैन।’
युरोपेली देशहरूले युद्धको सट्टा वार्तामार्फत समाधान खोज्ने रणनीति अपनाइरहेका छन्। अस्ट्रेलिया, फ्रान्स र जापानले पनि आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेका छन्।
ट्रम्पले बारम्बार आफ्ना सहयोगीहरूमाथि दबाब बनाउँदै आएका छन्। उनले भनेका छन्, ‘जुन देशहरूले यस मार्गबाट लाभ उठाउँछन्, उनीहरूले यसको सुरक्षा सुनिश्चित गर्न पनि योगदान दिनुपर्छ।’
तर युरोपेली युनियनले ट्रम्पको अपिल अस्वीकार गरेको छ। विदेश नीति प्रमुख काजा कलासले रेड सी मिसनलाई होर्मुजसम्म विस्तार गर्ने योजना नभएको स्पष्ट पारेकी छन्। साथै, यूरोपेली देशहरूले अमेरिकी र इजरायली उद्देश्यबारे पनि स्पष्टता चाहेका छन्।
इजरायलले आगामी तीन सातासम्म इरानसँग युद्ध गर्ने योजना तयार पारेको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ता नादभ शोसानीले भने, ‘हामीले सीमित उद्देश्यका लागि इरानमा लक्षित आक्रमणको योजना बनाएका छौँ, जसले इजरायलका लागि खतरा हुने संरचनालाई कमजोर पार्नेछ।’
तर इरानले चेतावनी दिएको छ। विदेशमन्त्री अब्बास अराघचीले भने, ‘हामी युद्ध चाहँदैनौँ, तर यदि युद्ध भए अमेरिकाले जमिनमा ओर्लिए परिणाम भोग्नुपर्छ।’
अमेरिकाले यस युद्धमा करिब २०० सैनिक घाइते भएको र १३ जनाको मृत्यु भइसकेको जनाएको छ। इरानमा हालसम्म १ हजार ८ सय भन्दा बढी मानिस मारिएका छन्, जसमा सर्वसाधारण पनि ठूलो संख्यामा छन्।
इजरायलले लेबनानको दक्षिणी भागमा स्थलगत आक्रमण बढाएको छ, जहाँ हालसम्म ८५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ, जसमा १०० भन्दा बढी बालबालिका छन्।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया