गोरखा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका १० जना उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो।
निर्वाचन ऐनअनुसार कुनै पनि उम्मेदवारले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा उम्मेदवारी दर्ता गर्दा राखिएको जमानत जफत हुने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार गोरखा–२ का अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जोगाउन असफल भएका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा-२ मा दुई स्वतन्त्रसहित ११ वटा राजनीतिक दलका गरी कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। तीमध्ये दुई स्वतन्त्र उम्मेदवार र आठ राजनीतिक दलका उम्मेदवारसहित १० जनाले आवश्यक मत प्राप्त गर्न नसकेको गोरखा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए।
जमानत जफत हुने उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मिलन गुरुङले चुनाव चिन्ह सूर्यबाट ३ हजार ८७ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलबहादुर बस्नेतले चुनाव चिन्ह हलोबाट २९२ मत प्राप्त गरेका छन्। नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले चुनाव चिन्ह मादलबाट ३० मत प्राप्त गरेका छन् भने मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले चुनाव चिन्ह कुखुराको भालेबाट २९० मत प्राप्त गरेका छन्।
त्यसैगरी नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले चुनाव चिन्ह उडिरहेको माहुरीबाट १११ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का टेकबहादुर प्रधानले चुनाव चिन्ह गोलो घेराभित्र दुई पात भएको गुलाफको फूलबाट १३० मत पाएका छन्। उज्यालो नेपालका बलराम तामाङले चुनाव चिन्ह बलिरहेको बिजुलीको चिमबाट ६३९ मत प्राप्त गरेका छन् भने आम जनता पार्टीकी कल्पना कुमालले चुनाव चिन्ह मोबाइलबाट ४१ मत प्राप्त गरेकी छन्।
यसैगरी दुई स्वतन्त्र उम्मेदवारमध्ये चुनाव चिन्ह सारङ्गी लिएर चुनाव लडेका चूडाप्रसाद ढकालले ८० मत प्राप्त गरेका छन् भने चुनाव चिन्ह मुसो लिएर उम्मेदवारी दिएका हरि पोखरेलले १४ मत मात्र प्राप्त गरेका छन्। यी सबै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत हुने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत बेल्वासेका अनुसार गोरखा–२ मा जमानत जोगाउनका लागि कुनै पनि उम्मेदवारले कम्तीमा ५ हजार ४१५ मत प्राप्त गर्नुपर्ने थियो। तर अधिकांश उम्मेदवार उक्त सीमा पार गर्न असफल भएपछि उनीहरूको जमानत जफत हुने भएको हो।
प्रतिक्रिया