काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा स्थानीय तहका १४ जना बहालवाला जनप्रतिनिधिमध्ये ११ जना चुनावी मैदानमा पराजित भएका छन्। यस अर्थमा उनीहरू न त आफ्नो स्थानीय पदमा बाँकी छन्, न त संसद्मै प्रवेश गर्न सफल भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरका विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए। तर तीमध्ये काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाह, धरान उपमहानगरपालिकाका हर्क साम्पाङ र वीरगन्ज महानगरपालिकाका वडाध्यक्ष सुशील साह कानु मात्रै विजयी भए।
स्थानीय तहमा स्वतन्त्र रूपमा निर्वाचित भएका बालेन र हर्कले आफ्नो लोकप्रियता र साखलाई केन्द्रीय राजनीतिमा पनि कायम राख्न सफल भएका छन्। बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा उम्मेदवार बनेर एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसहितका प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित भए।
साम्पाङ आफ्नै ‘श्रम संस्कृति पार्टी’बाट सुनसरी–१ मा चुनाव जित्दै केन्द्रीय राजनीतिमा प्रवेश गरे। साह वीरगन्ज–२ बाट रास्वपा तर्फबाट निर्वाचित भई वडाध्यक्ष पदबाट सिधै संसद्मा स्थान बनाउन सफल भए।
तर विजयी तीन जनाबाहेक अन्य ११ जना स्थानीय जनप्रतिनिधि चुनावी दौडमा असफल भए।
विशेषगरी भरतपुरका निवर्तमान प्रमुख रेणु दाहाल चितवन–३ मा पराजित भइन्। माओवादी केन्द्रबाट नेकपामा रूपान्तरण भए पनि उनलाई रास्वपाकी सोबिता गौतमले हराइन्। धुलिखेलका पूर्व मेयर अशोक व्याञ्जु श्रेष्ठ काभ्रे–२ मा रास्वपाका बदन भण्डारीबाट पराजित भए भने रंगेलीका पूर्व मेयर दिलीप वगडिया मोरङ–२ मा रास्वपाका कृष्णकुमार कार्कीबाट पराजित भए।
सूर्योदयका पूर्व मेयर रणबहादुर राई इलाम–१ मा पाँचौँ स्थानमा सीमित भए। टीकापुरका पूर्व मेयर रामलाल डगौरा कैलाली–१ मा पराजित भए। सोलुखुम्बुको गाउँपालिका अध्यक्ष पद छाडेर चुनाव लडेका असिम राई कांग्रेसका प्रकाश सिंह कार्कीबाट पराजित भए। उदयपुरका गाउँपालिका अध्यक्ष पद छोडेका मेजर कुमार राई उदयपुर–२ बाट जमानत जफत भए।
नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई बाँके–२ मा छैटौँ स्थानमा सीमित भए भने ओखलढुंगाकी उपाध्यक्ष अस्मिता थापा चौथो स्थानमा रहिन्। वीरगन्जका वडाध्यक्ष रामकिशोर सिंह र धरानका वडाध्यक्ष मनोज भट्टराई पनि पराजित भए।
राष्ट्रिय नीति निर्माणमा स्थान बनाउन स्थानीय सरकारको अनुभव उपयोग गर्ने योजना अधिकांश जनप्रतिनिधिहरूको लागि यस निर्वाचनमा सफल हुन सकेन। पद छोडेर चुनाव लडेका यी ११ जना नेता अब न त स्थानीय तहमा बाँकी छन्, न त संसद्मा पुगेका छन्।
दुई महिला जनप्रतिनिधि दाहाल र थापा पनि पराजित भइन्। यसरी उनीहरूको प्रयास ‘आकाशको फल आँखा तरी मर’ साबित भएको छ।
प्रतिक्रिया