गोरखा- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सहमति नभएको स्पष्ट पारेको छ। पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाइएको सहकार्यसम्बन्धी समाचारलाई हल्ला र भ्रामक प्रचारको संज्ञा दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टीले गोर्खा जिल्लामा नेपाली कांग्रेसलाई सहयोग गर्ने भन्ने समाचार सार्वजनिक भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचार पूर्णतः भ्रामक र तथ्यहीन रहेको यसैमार्फत स्पष्ट पार्न चाहन्छौँ।’
पार्टीका अनुसार निर्वाचनको सन्दर्भमा विभिन्न राजनीतिक दलहरूसँग छलफल र संवाद हुनु स्वाभाविक राजनीतिक प्रक्रिया हो। तर छलफललाई नै सहमति वा औपचारिक तालमेलको रूपमा व्याख्या गर्नु गलत भएको प्रलोपाको भनाइ छ। ‘हालसम्म कुनै पनि दलसँग लिखित वा मौखिक सहमति/सम्झौता भएको छैन,’ विज्ञप्तिमा उल्लेख छ।
यसअघि सार्वजनिक समाचारमा प्रलोपा गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको दाबी गरिएको थियो। तर जिल्ला कार्यसमितिले त्यसलाई अस्वीकार गर्दै आधिकारिक निर्णय नभएको र पार्टीको नीति तथा कार्यक्रमअनुसार नै चुनावी रणनीति तय हुने जनाएको छ।
स्थानीय निर्वाचनताका तनहुँको कोत्रेको बैठकले गोरखाको राजनीतिमा तरंग ल्याएको थियो। अब संघीय निर्वाचनको सन्दर्भमा मर्स्याङ्दीको किनारमा अवस्थित म्याङ्गो रिसोर्ट नयाँ राजनीतिक चर्चाको केन्द्र बन्न पुगेको छ। त्यही रिसोर्टमा नेपाली कांग्रेस गोरखा–२ का केही नेता र प्रलोपाका समानुपातिक उम्मेदवारसहित भएको भनिएको बैठकले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको चर्चा फैलिएको थियो।
तर समय धेरै बित्न नपाउँदै जिल्लाका केही नेताहरूले उक्त दाबीको खण्डन गर्दै प्रेस विज्ञप्ति जारी गर्न थालेका छन्। उनीहरूले कसैलाई पनि सहयोग नगर्ने स्पष्ट अडान सार्वजनिक गरेका छन्। यसले राजनीतिक वृत्तमा थप अन्योल र जिज्ञासा जन्माएको छ।
यता बाबुराम भट्टराईको मौनताले झन् चर्चालाई मलजल गरेको छ। उनी न समर्थनमा खुलेका छन्, न खण्डनमै बोलेका छन्। गोरखाको राजनीतिमा उनको भूमिकालाई सधैँ अर्थपूर्ण रूपमा हेरिने भएकाले यो मौनता धेरैका लागि ‘लख काट्ने’ विषय बनेको छ।
कोत्रेपछि अब म्याङ्गो रिसोर्ट गोरखाको राजनीतिक संवादको अर्को प्रतीक बन्ने देखिएको छ। चुनाव नजिकिँदै जाँदा यस्ता भेटघाट र तिनको वरिपरि घुम्ने चर्चा–परिचर्चाले जिल्लाको सत्ता समीकरण कता मोडिन्छ भन्ने प्रश्नलाई थप रोचक बनाइदिएको छ।
प्रलोपा गोरखाले पार्टी पंक्ति, समर्थक र शुभेच्छुक मतदाताहरूलाई यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै आगामी निर्वाचनमा समानुपातिकतर्फ आफ्नो ‘आँखा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरेको छ भने प्रत्यक्षतर्फ भने मतदातालाई आफ्नो सही विवेक प्रयोग गरी मतदान गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया