काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका छन् ।
रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् ।
‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस्,’ सभापति थापाले भने, ‘तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’
सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे ।
‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’
थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।
‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस्–भन्नुस्– यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’
प्रतिक्रिया