+
Search

ताजा अपडेट +

पपुलर +

छायाँनाथ रारा नगरपालिकामा ‘श्रम बैंक’ स्थापना

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन १०, आईतवार

मुगु– छायाँनाथ रारा नगरपालिका ले श्रमबाटै समृद्धि सम्भव हुने अवधारणालाई संस्थागत गर्न ‘श्रम बैंक’ सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको छ।

नगर प्रमुख विष्णुकुमार भामले उक्त कार्यविधि राजपत्रमार्फत सार्वजनिक गर्दै श्रमदान संस्कृतिलाई दीर्घकालीन रूपमा जोगाइराख्न नयाँ अभ्यास सुरु गरिएको जानकारी दिएका छन्।

नगरप्रमुख भाम निर्वाचित भएदेखि हरेक शनिवार नगर क्षेत्रका विभिन्न स्थानमा श्रमदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

सडक मर्मत, सरसफाइ, साना पूर्वाधार सुधार र सामुदायिक संरचना व्यवस्थापनजस्ता काममा स्थानीय, कर्मचारी, सुरक्षाकर्मी तथा व्यवसायीहरू सहभागी हुँदै आएका छन्। तर यसअघि को–को सहभागी भए, कति घण्टा श्रमदान गरे र कति पटक श्रमदानमा जुटे भन्ने व्यवस्थित अभिलेख राख्ने व्यवस्था थिएन।

अब भने नगरपालिकाले श्रमदान गर्ने सबै व्यक्तिको अभिलेख राख्नेछ। कार्यविधिअनुसार श्रम बैंकको व्यवस्थापन जिम्मा नगरपालिकाको रोजगार शाखालाई दिइएको छ। रोजगार शाखामार्फत प्रत्येक श्रमदाताको ‘खाता’ खोलिनेछ, जहाँ उनीहरूले गरेको श्रमदानको घण्टा जम्मा हुनेछ।

बैंक शब्द सुन्नासाथ पैसा जम्मा गर्ने र ऋण दिने अवधारणा सम्झना आउँछ। तर यो श्रम बैंकमा भने पैसा होइन, श्रम गरेको समय जम्मा हुनेछ। श्रमदानमा सहभागी भई कम्तीमा दुई घण्टा काम गरेपछि मात्र खातामा घण्टा अभिलेख हुनेछ।

हरेक शनिवार नगरप्रमुखको अगुवाइमा सञ्चालन हुने श्रमदान कार्यक्रममा सहभागीहरूको श्रम अवधि नियमित रूपमा रेकर्ड गरिनेछ।

कार्यविधिमा उल्लेख गरिएअनुसार खातामा जम्मा भएको श्रम घण्टाका आधारमा नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवा–सुविधामा सहुलियत दिइने व्यवस्था गरिएको छ।

सिफारिस दस्तुरमा छुट, स्वास्थ्य सेवामा सहुलियत, यातायात तथा शैक्षिक सहुलियत र बीमासम्बन्धी सुविधामा प्राथमिकता दिने प्रावधान समावेश गरिएको छ। कुनै सेवा सुविधा उपयोग गर्दा खातामा जम्मा भएको घण्टा खर्च हुनेछ भने पुनः श्रमदान गरे थप घण्टा जम्मा हुँदै जानेछ।

नगरपालिकाले श्रमदान गर्ने व्यक्तिको सम्मानका लागि थप प्रोत्साहन योजना पनि ल्याउने जनाएको छ।

वर्षभरिमा सबैभन्दा बढी घण्टा श्रमदान गर्ने व्यक्तिलाई विशेष सम्मान गरिने उल्लेख छ। आवश्यकताअनुसार कार्यविधिमा थप सेवा–सुविधा समावेश गर्ने वा संशोधन गर्ने अधिकार पनि राखिएको छ।

नगरप्रमुखका अनुसार सीमित बजेट र स्रोत–साधनका बीच सानातिना विकास निर्माण तथा मर्मत सम्भारका काम श्रमदानबाटै सम्भव हुन्छन्।

श्रमदानलाई अभियानकै रूपमा अघि बढाउँदै सामुदायिक एकता, स्वामित्व भावना र जिम्मेवारी बोध बढाउने उद्देश्यले श्रम बैंक स्थापना गरिएको उनले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ