काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले विभिन्न मन्त्रालय, आयोग, सचिवालय तथा नियोगहरूलाई कायम मुकायम (कामू) तोकिएका कर्मचारीहरूको विवरण सात दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ।
मन्त्रालयले स्वीकृत दरबन्दी बमोजिम कर्मचारी नखटाई अस्थायी रूपमा जिम्मेवारी तोकिएका कर्मचारीहरूको अवस्था स्पष्ट गर्न यस्तो निर्देशन दिएको हो।
परिपत्रमा कुन पदमा स्वीकृत दरबन्दी हुँदाहुँदै किन स्थायी पदपूर्ति नगरी कायम मुकायम मुकरर गरिएको हो भन्ने विषय खुलाउन भनिएको छ।
मन्त्रालयका अनुसार कायम मुकायम तोकिएका कर्मचारीलाई कुन मितिदेखि, के कति कारणले र कस्तो परिस्थितिमा जिम्मेवारी दिइएको हो भन्ने विस्तृत विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
यसका साथै सम्बन्धित निकायको नाम, स्वीकृत दरबन्दीको पदनाम, निमित्त वा कायम मुकायम रूपमा जिम्मेवारी दिइएका कर्मचारीको नाम–थर, जिम्मेवारी तोकिएको मिति तथा कारण स्पष्ट गरी पठाउनुपर्नेछ।
उक्त विवरण सात दिनभित्र मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनिएको छ।
मन्त्रालयले प्रशासनिक पारदर्शिता कायम गर्न, दरबन्दी व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा अस्थायी जिम्मेवारीको अवस्थाबारे अद्यावधिक तथ्यांक संकलन गर्न यस्तो परिपत्र जारी गरिएको जनाएको छ।
प्रतिक्रिया