काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सुदृढ सुरक्षा व्यवस्था मिलाएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।
राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले सरकारको प्रमुख प्राथमिकता तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि अपरिहार्य सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाइएको उल्लेख गर्दै उनले सबै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरे।
मन्त्री अर्यालका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरिएको छ। एकीकृत सुरक्षा योजना लागू गरी सुरक्षा संवेदनशीलताका आधारमा देशभर सुरक्षा व्यवस्था सुदृढ बनाइएको उनले बताए।
निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश र जिल्लास्तरमा संयन्त्र सक्रिय रहेको, निर्वाचन सेल परिचालन गरिएको तथा गृह प्रशासनले दैनिक रूपमा अवस्था, आवश्यकता र चुनौतीको विश्लेषण गरिरहेको उनले जानकारी दिए। हाल देखिएका छिटपुट झडपका घटनाले निर्वाचन प्रक्रियामा कुनै असर नपार्ने दाबी गर्दै ती घटना नियन्त्रणभित्रै रहेको बताए।
भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ का क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हतियार अहिले सुरक्षा चुनौती नरहेको पनि उनले स्पष्ट पारे। अधिकांश हतियार र कैदीबन्दी फिर्ता भइसकेको तथा बाँकीलाई पनि नियन्त्रणमा लिन प्रयास जारी रहेको उनको भनाइ थियो। हालसम्म भागेकाहरूले बाहिर गएर थप आपराधिक गतिविधि गरेको वा लुटिएका हतियार प्रयोग भएको सूचना नआएको उनले बताए।
फागुन २१ गते निर्वाचन नगर्ने छुट सरकारलाई नरहेको उल्लेख गर्दै मन्त्री अर्यालले संविधानले संसद् विघटन भएको छ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेकाले समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व भएको बताए। वर्तमान सरकार विशेष परिस्थितिमा गठन भएको ‘चुनावी सरकार’ भएकाले निर्वाचनलाई नै पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ थियो।
‘यो निर्वाचन हाम्रो निष्ठाको जाँच हो,’ उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन गराएर निर्वाचित सरकारलाई प्रजातान्त्रिक प्रक्रियाबाट सत्ता हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। चुनाव सार्ने भन्ने कुरा हुँदैन।’
उनले निर्वाचन सार्ने भाष्य निर्माण गर्ने प्रवृत्तिलाई राज्य संयन्त्रले निस्तेज पार्ने बताउँदै जनताको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। राष्ट्रपतिबाट तोकिएको मिति संवैधानिक प्रावधानअनुसार नै रहेको भन्दै संविधानको रक्षा र पालना गर्ने शपथअनुसार सरकार अघि बढिरहेको उनले बताए।
सरकारले विधिको शासन, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई पनि समानान्तर रूपमा अघि बढाइरहेको जनाउँदै उनले सरकार शासक नभई सहजकर्ताका रूपमा समन्वयात्मक भूमिकामा रहेको धारणा व्यक्त गरे।
निर्वाचन आयोगसँग समन्वय गरेर मतदाता नामावली अद्यावधिकदेखि आवश्यक तयारी पूरा भइसकेकाले अब मतदानका लागि वातावरण पूर्ण रूपमा तयार रहेको उनले बताए।
विशेष परिस्थितिबीच हुन लागेको यो निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेरिरहेको उल्लेख गर्दै उनले शान्तिपूर्ण, अहिंसात्मक र उत्साहपूर्ण रूपमा मतदानमा सहभागी हुन सबै देशवासीसँग पुनः आग्रह गरे।
प्रतिक्रिया