काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन नजिकिँदै गर्दा पार्टीप्रति जनताको आकर्षण चुलिएको निस्कर्ष निकालेको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले अन्य पार्टीबाट शीर्ष नेताहरुदेखि कार्यकर्तासम्म कांग्रेस प्रवेश गर्ने लहर नै चलेको दावी गरे ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले ‘घर छोडेका साथीहरु’ लाई पनि फर्किन आग्रह गरे । जुनसुकै पार्टीबाट आउन चाहेका सबैलाई भित्र्याएर लोकतन्त्रको हकदार बनाउने उनले बताए ।
चालिसेले भने, ‘निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण चुलिँदै गएको छ । शीर्ष नेतृत्वदेखि अन्य नेता–कार्यकर्ता आवद्ध हुने लहर चलेको छ । सबैलाई पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं । घर छाडेका साथीहरु घर फर्किनुस । अरु पार्टीका साथीहरु कांग्रेसमा जोडिनुस ।’
उनले पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मात्रै हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरु कांग्रेसमा प्रवेश गरेको उल्लेख गरे ।
‘रास्वपाका संस्थापक सदस्यदेखि उच्च तहका नेता, प्रदेशका सदस्य र कार्यकर्ता ठूलो संख्यामा कांग्रेसमा प्रवेश गरेको सार्वजनिक भएकै छ । साना ठूला गरेर हजारौंको संख्यामा छन् । त्यो आँकडा पार्टीमा छ । सबैलाई सदस्यता वितरण गरिएको छ । पूर्वमन्त्रीदेखि संविधानसभाका सदस्यहरु पनि आएका छन् । जिल्ला कमिटी नै कांग्रेसमा प्रवेश गरेको स्थिति छ । समानुपातिक उम्मेदवारहरु पनि विभिन्न पार्टीहरुबाट आएका छन् । यो क्रम जारी छ । भविष्यमा यो क्रम अझै तीव्र हुने छ । पार्टीलाई बहुमतमा पुर्याउने उत्साहजन संख्या जुटेको मानेका छौं ।’
चालिसेले पार्टीको घोषणापत्रप्रति व्यापक सन्तुष्टि देखिएको भन्दै खुशी व्यक्त गरे ।
आम वर्गले कांग्रेसको प्रतिज्ञापत्रमा प्रश्न गरुन् भन्ने पार्टीले चाहेको र जवाफ दिन तयार रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया