+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकीको लगानी ढाँचामा सहमति भएपछि कुलमानले भने– ‘मेरो कार्यकालको महत्त्वपूर्ण उपलब्धि’

फाइल तस्बिर
पालिका लाइभ
२०८२ माघ ३, शनिबार

काठमाडौं– राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले सहमति दिएका छन् । यो मोडालिटी अब मन्त्रिपरिषद्मा पेश भएर निर्णय हुने छ ।

१२०० मेगावाट क्षमताको आयोजनाका लागि आधारभूत लागत २ अर्ब ७७ करोड अमेरिकी डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) अनुमान गरिएको छ । कुलमान घिसिङ ऊर्जामन्त्री हुँदा गत मंसिरको पहिलो साता आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वःपूँजी (इक्विटी) बाट जुटाउने गरी लगानी मोडालिटी तयार गरिएको थियो ।

सरकारको आयोजनामा इक्विटी बापत ७९ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतपूर्ण कर्जाबापत १ खर्ब ५० अर्ब रुपैयाँ गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी रहने बताइएको छ । सरकारबाट हालसम्म आयोजनामा भएको ४५ अर्ब रुपैयाँ कम्पनीमा गरेको शेयर लगानीमा रूपान्तरण हुनेछ ।

पूर्वऊर्जामन्त्री घिसिङले आयोजनाको लगानी ढाँचा स्वीकृत हुनु केवल एउटा प्रशासनिक सहमति मात्र नभएर वर्षौँदेखि प्रतीक्षामा रहेको राष्ट्रको सपनातर्फको ठोस कदम भएको प्रतिक्रिया दिएका छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘स्वदेशी लगानीमै यति ठुलो आयोजना बनाउन सकिन्छ भन्ने आत्मविश्वाससाथ यो मोडालिटी तयार गरिएको हो । वर्षौँदेखि अन्योल, बहस र प्रतीक्षामा सीमित रहेको बूढीगण्डकी अब निर्माणतर्फ अघि बढ्ने मोडमा आइपुगेको छ । अब ढिलाइ गर्ने छुट छैन—काम थाल्नै पर्छ ।’

आयोजना केवल विद्युत् उत्पादनका लागि मात्र नभएर देश आत्मनिर्भर बनाउने विश्वासको ठोस आधार भएको घिसिङको दाबी छ । ‘यो ऊर्जा क्षेत्रमा मेरो ११५ दिनको कार्यकालमा भएको एउटा महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ