+
Search

ताजा अपडेट +

पपुलर +

अस्पताल व्यवस्थापन समितिमा कांग्रेस–एमालेको भागबण्डा :

गण्डकी प्रदेशका ११ अस्पतालमा अध्यक्ष नियुक्त, गाेरखा र आँपपिपलमा किन भएन?

कांग्रेस–एमालेको भागबण्डाको आधारमा मन्त्रिपरिषद बैठकले अहिले ११ वटा जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरिसकेको छ ।

फाइल तस्बिर : गण्डकी प्रदेश मन्त्रिपरिषद बैठक
पालिका लाइभ
२०८२ मंसिर २४, बुधबार

गोरखा– गण्डकी प्रदेश सरकारले मातहतका ११ वटा अस्पतालमा नयाँ अध्यक्ष नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ११ वटै अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गरी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार लेखनाथस्थित जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, दमौली अस्पतालमा कमलामोहन वाग्ले, बागलुङको बुर्तिबाङ अस्पतालमा कमल भुसाल, पर्वत अस्पतालमा यामबहादुर नेपाली र धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा श्रीप्रसाद शर्मालाई अध्यक्षमा नियुक्त गरिएको छ। त्यस्तै बेनी अस्पतालमा डेकबहादुर बानियाँ, मध्यबिन्दु अस्पतालमा बालकृष्ण घिमिरे, मुस्ताङ अस्पतालमा तेन्जिङ थकाली, लमजुङ अस्पतालमा विजय गुरुङ, स्याङ्जा अस्पतालमा दिलकुमार भुजेल र मनाङ अस्पतालमा अर्विन गुरुङ नियुक्त भएको बताइएको छ।

याे पनि,

आँपपिपल अस्पतालमा चरम बेथिति: औषधि अभावमा सेवा नै बन्द हुने जोखिम

गण्डकीमा हाल प्रदेश सरकार मातहत १४ वटा अस्पताल र दुई आयुर्वेद अस्पताल सञ्चालनमा छन्। सरकारले जारी गरेको नयाँ गठन आदेशअनुसार एक सय शय्याका अस्पतालमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था गरिएको छ। यस्ता अस्पतालमा ९ सदस्यीय समिति गठन हुनेछ, जसका सदस्यहरूमा अस्पताल रहेको स्थानीय तहको प्रमुख वा तोकेको कार्यपालिका सदस्य, कम्तीमा स्नातक तह उत्तीर्ण सम्बन्धित जिल्लाको व्यक्तिबाट मन्त्रालयले मनोनीत गरेको एक महिलासहित दुई जना, जिल्ला प्रशासन कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि, समितिले मनोनीत गरेको अस्पतालमा कार्यरत स्थायी विशेषज्ञ चिकित्सक, अस्पतालको नर्सिङ प्रमुख र सदस्य सचिवका रूपमा मेडिकल सुपरिन्टेन्डेन्ट रहने व्यवस्था छ।

५० शय्याका अस्पतालमा पनि स्नातक तह उत्तीर्ण गरी सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिलाई अध्यक्ष नियुक्त गरिनेछ। यसमा ९ सदस्यीय समिति हुनेछ, जसमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण व्यक्तिमध्ये महिलासहित दुई जना सदस्य रहनेछन्। २५ शय्यासम्मका अस्पतालमा सम्बन्धित जिल्लामा स्थायी बसोबास गर्ने व्यक्तिबाट प्रदेश सरकारले मनोनीत गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ। यसका सदस्यहरू मन्त्रालयले तोकेको व्यक्तिहरू हुनेछन्। नयाँ गठन आदेशअनुसार एक सय शय्याका, ५० शय्याका र २५ शय्याका अस्पतालमा समिति गठनका लागि योग्यता निर्धारण गरिएको छ।

गाेरखा र आँपपिपलमा किन भएन?

तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका गृह जिल्ला र गृह पालिकामा रहेका अस्पतालमा अध्यक्ष नियुक्त गरिएको छैन। गोरखा नगरपालिकामा रहेको गोरखा अस्पताल र पालुङटार नगरपालिकामा रहेको आँपपिपल अस्पतालमा अध्यक्ष चयन हुन नसकेको हो। पछिल्लो समय यी दुवै अस्पताल भ्रष्टाचार र प्रशासनिक अस्थिरताको रूपमा चित्रित भएका छन्।

गोरखा अस्पताल करिब चार वर्षदेखि निमित्तकै भरमा सञ्चालनमा रहेको छ भने आँपपिपल अस्पताल पनि लामो समयसम्म जुनियर मेसुको भरमा चलाइएको छ। मुख्यमन्त्री पाण्डेले भव्य समारोहबीच उद्घाटन गरेको आँपपिपल अस्पताल हाल पनि निमित्तकै भरमा सञ्चालन भइरहेको छ।

याे पनि,

सुशासनको धज्जी उठाउँदै आँपपिपल अस्पतालका निमित्त मेसु डा. मग्राती

समाचार स्रोतका अनुसार यी अस्पतालमा कार्यरत केही कर्मचारी र डाक्टरहरू अवैध रूपमा गाँजा सेवन गर्ने थालेका रूपमा चर्चा छ। लामो समयसम्म नियम, ऐन तथा कानुन विपरीत आवास सुविधा लिइएको र कार्यालय सञ्चालनमा पारदर्शिता अभाव रहेको कुरा उठाइएको छ।

पालुङटार भित्रको कांग्रेस गुटबन्दीले अस्पतालको नेतृत्व कसले सम्हाल्ने भन्ने विवाद चर्काएको छ। एक पक्ष अध्यक्ष बन्न तत्पर छ भने अर्को पक्ष कुनै हालतमा अध्यक्ष नबनाउने अडानमा छ। यही गुटको लडाइँका कारण गोरखाका यी अस्पतालमा अध्यक्ष चयन हुन नसकेको स्थानीयवासी बताउँछन्। सम्भव त गोरखाका दुवै अस्पताल कांग्रेसकाे भागमा परेको चर्चा छ ।

कांग्रेसको आउँदै गरेको १५ औँ महाधिवेशनले पनि मुख्यमन्त्री पाण्डेलाई अध्यक्ष नियुक्त गर्न असहज बनाएको चर्चा चलिरहेको छ। प्रदेश सरकार मातहतका अस्पतालहरूमा नयाँ अध्यक्ष नियुक्ति भए पनि गोरखाका दुई महत्त्वपूर्ण अस्पताल अझै नेतृत्वविहीन रहँदा प्रशासनिक अस्थिरता, सुशासन अभाव र सेवाको गुणस्तरमा प्रभाव परेको देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ