पोखरा– गण्डकी प्रदेश सरकारले एकैपटक ठुलो संख्यामा कर्मचारीको सरुवा गरेको छ।
विभिन्न मन्त्रालय, निर्देशनालय र प्रदेशअन्तर्गतका कार्यालयमा कार्यरत ठुलो संख्यामा कर्मचारीहरूको सरुवा र पदस्थापन गरेको हो ।
प्रशासनिक पुनर्संरचना र कार्यालय खारेजीको प्रक्रिया सम्पन्न नहुँदा दुई पटकसम्म प्रदेश निजामती सेवा नियमावली संशोधन गरी समय सीमा बढाइएपछि प्रदेश सरकारले सातौँदेखि दसौँ तहसम्मका अधिकृतलाई एकीकृत रूपमा सरुवा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय प्रमुख तथा अन्तर–मन्त्रालय सरुवा हुने कर्मचारीको सूची टुङ्ग्याएको छ भने कार्यालय प्रमुख बाहेक अन्य कर्मचारीहरूको सरुवा सम्बन्धित मन्त्रालयमार्फत गराउने व्यवस्था छ। संशोधित नियमावलीअनुसार मन्त्रालयहरूले मंसिर १५ भित्र सरुवा कार्य सम्पन्न गर्नुपर्ने प्रावधानसहित अहिलेको व्यापक रूपमा सरुवा गरेको हो ।
सरुवामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका उपसचिवदेखि विभिन्न सेवा समूहमा पदस्थ वरिष्ठ स्वास्थ्य प्रशासक, चिकित्सक, कृषि तथा पशु सेवा विशेषज्ञ, वन अधिकृत, इन्जिनियर, प्रशासकीय अधिकृतलगायतका कर्मचारी समावेश छन्। उपसचिव टिकाराम पौडेल गण्डकी प्रदेश सभा सचिवालयमा, लक्ष्मीभद्र वाग्ले ऊर्जा तथा खानेपानी मन्त्रालयमा, सालिकराम रेग्मी प्रदेश खेलकुद परिषद्मा, निराजन शर्मा प्रेस रजिस्ट्रार कार्यालयमा, नवराज पोखरेल र गुमादेवी शर्मा मुख्यमन्त्री कार्यालयतर्फ पुनः स्थापना भएका छन्।
यसैगरी हिम पोखरेल मुख्यमन्त्री कार्यालयमा ल्याइएकी छन् भने प्रभाकर घिमिरे, मुना अधिकारी, हरि बहादुर खपागीलगायतका उपसचिवहरू पनि विभिन्न मन्त्रालय र निर्देशनालयमा पुनः खटाइएको छ।
स्वास्थ्य क्षेत्र यसपटकको सरुवाको ठुलो हिस्सा बनेको छ। कास्कीस्थित साबिक प्रादेशिक स्वास्थ्य निर्देशनालय र प्रदेश जनस्वास्थ्य कार्यालयहरूको व्यापक कर्मचारी समायोजन भइरहेको छ। जनस्वास्थ्य प्रशासक, मेडिकल जनरलिस्ट, मेडिकल सुपरिटेन्डेन्ट, नर्सिङ प्रशासक, डर्माटोलोजी विशेषज्ञदेखि आयुर्वेद चिकित्सकसम्मका कर्मचारीलाई पोखरा, बागलुङ, गोरखा, लमजुङ, नवलपुर, स्याङ्जा, मनाङ, म्याग्दी लगायतका स्वास्थ्य कार्यालय तथा अस्पतालहरूमा फेरबदल गरिएको छ। मातृ शिशु मितेरी अस्पताल, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, आँपपिपल अस्पताल, धौलागिरि अस्पताल र जनस्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसमेत नयाँ कार्यस्थलका रूपमा तोकिएका छन्।
वन तथा वातावरण क्षेत्रमा म्याग्दी, तनहुँ, नवलपुर र कास्कीका डिभिजन वन कार्यालयहरूबिच अदलबदल भएको छ। केही अधिकृतलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र मन्त्रालयमा सरुवा गरिएको छ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि ज्ञान केन्द्र, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, बाली संरक्षण, बागवानी विकास र माटो परीक्षण प्रयोगशाला जोडिएका कर्मचारीहरूले व्यापक सरुवा भोगेका छन्। वरिष्ठ कृषि प्रसार अधिकृतदेखि पशु चिकित्सक, मत्स्य अधिकृत, कृषि अर्थ विज्ञसम्मका कर्मचारीहरूको ठुलो रोटेशनका साथ स्याङ्जा, तनहुँ, पर्वत, कास्की, लमजुङ, मनाङ, मुस्ताङ, बागलुङ, नवलपुर, गोरखालगायतमा पुनर्प्रेषण गरिएको छ।
भौतिक पूर्वाधार तथा इन्जिनियरिङ सेवामा पनि समानान्तर ठुलो चलायमान भएको छ। सिभिल, स्यानिटरी र इरिगेसन समूहका इन्जिनियरहरूलाई सडक, खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयहरू, ग्रामीण सडक सञ्जाल सुधार आयोजना तथा प्रदेश पूर्वाधार विकास कार्यालयमा पुनः स्थापना गरिएको छ। केही इन्जिनियरहरूलाई परियोजना काजका लागि अस्थायी दरबन्दीमा खटाइएको छ।
यसअघि प्रदेश सरकारले केही समय अघि १७२ स्थानीय तहका कर्मचारीहरूलाई परस्पर सहमतिमार्फत सरुवा गरेको थियो । त्यस्तै जिल्लास्तरका कार्यालयमा पनि केही हप्ता अघि ठुलो संख्यामा समायोजन गरिएको थियो।
प्रतिक्रिया