काठमाडौं- विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहरेको छ।
अदालतले मेयर थापालाई एक वर्ष कैद र बिगो बराबरको जरिवानाको फैसला गरेको छ।
न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले दोषी ठहर गरेको हो।
अदालतले मेयर थापालाई एक वर्ष कैद र बिगो बराबर तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना हुने ठहर गरेको छ। बिगोबाट बढे-बढाइएको सम्पत्ति जफतको फैसला अदालतले गरेको छ।
जाँच अवधिमा कुल आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ र कुल व्यय १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ देखिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो।
आयभन्दा बढी रहेको तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ अख्तियारले बिगो कायम गरेको थियो।
यस्तै अदालतले गैरकानुनी हानी नोक्सानीमा थापासहित, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरी सजाय निर्धारणको आदेश गरेको छ।
नगरपालिकाको मूल्य अभिवृद्धि करसहित बिगो ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ नदीजन्य पदार्थ हानी नोक्सानी गरेको देखिएको ठहर अदालतले गरेको छ।
अदालतले थापा, पोखरेल र पौडेलको हकमा सजाय निर्धारणका लागि साउन २९ गतेको पेसी निर्धारण गरेको छ।
अदालतले प्रतिवादीहरू उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीलाई अभियोगबाट सफाइ दिएको छ।
प्रतिक्रिया