+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसमा किचलो: बढ्यो आन्तरिक द्वन्द्व

कांग्रेस बागमती संसदीय दलको नेता छान्न आज मतदान, मुख्यमन्त्री बन्ने दाउमा बानियाँ

फाइल तस्बिर
पालिका लाइभ
२०८२ श्रावण १४, बुधबार

काठमाडाैं– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज बुधवार मतदान हुँदैछ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार बिहान ८ बजेबाट प्रक्रिया सुरु भइसकेको छ। मतदाता नामावली प्रकाशित भएपछि दाबी–विरोध, उम्मेदवारी दर्ता, फिर्ता, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यतालिका तय गरिएको छ।

मतदान दिउँसो २ देखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ। प्रदेशसभा सचिवालयले जारी गरेको परिचयपत्र अनिवार्य गरिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना गरी आजै नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

यसपटक प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पुनः संसदीय नेतामा प्रतिस्पर्धामा छन्। बानियाँकै नेतृत्वमा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। मंगलबार भएको मत विभाजनमा २२ जनाले लामाको विपक्षमा मत दिए भने १५ जनाले समर्थन जनाए। यसले बानियाँलाई थप आत्मविश्वास दिलाएको देखिन्छ।

२०७९ पुसमा भएको संसदीय दलको नेताको प्रतिस्पर्धामा बानियाँ ५ मतले पराजित भएका थिए। लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाएका थिए। अहिले उनी दोस्रोपटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।

मत विभाजनको नतिजा सार्वजनिक भएलगत्तै बानियाँले मुख्यमन्त्री लामाले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिनुपर्ने बताए। उनले पहिलो चरणमा अविश्वास प्रस्ताव टुंगिएपनि दोस्रो चरणमा संसदीय दलको नेताको चयन कांग्रेस प्रदेश कार्यसमितिबाट हुने र त्यसपछि सरकारको नेतृत्वबारे निर्णय हुने स्पष्ट पारे।

मुख्यमन्त्री लामा भने आफूविरुद्ध प्रपञ्च रचिएको भन्दै पदबाट राजीनामा नदिने अडानमा छन्। उनले संसदीय दल र सरकार फरक विषय भएको र मुख्यमन्त्री बन्न दलको नेता हुन आवश्यक नरहेको धारणा राखेका छन्।

बागमती प्रदेश सरकारमा १४ मन्त्रालय छन्, जसमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री छन्। हालसम्म कांग्रेसका ६ मन्त्रीले राजीनामा गरिसकेका छन्। ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। कांग्रेस–एमाले समीकरणमा ६४ सांसद रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ