+
Search

ताजा अपडेट +

पपुलर +

गठबन्धनबारे प्रचण्ड:

के सत्ता समीकरण फेरबदल हुन्छ? प्रचण्ड भन्छन्- ‘राजनीति हो, कतिबेला ढल्किन्छ भन्न सकिन्न’

उनले कांग्रेससँगको अघिल्लो गठबन्धन र राजनीतिक उतारचढावको सन्दर्भ उठाउँदै भने, 'राजनीति हो, कतिबेला कहाँ ढल्किने हो भन्न सकिन्न'

पालिका लाइभ
२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणबारे अस्थिरता रहन सक्ने संकेत दिएका छन्।

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीति कहिले कहाँ ढल्किन्छ भन्ने कुरा पूर्वानुमान गर्न नसकिने बताए।

प्रचण्डले २०७९ काे प्रतिनिधिसभा निर्वाचनको प्रसंग कोट्याउँदै कांग्रेस र माओवादी केन्द्रबीच गोरखामा भएको गठबन्धनको स्मरण गरे। उनले भने, ‘गोरखामा चुनाव लड्दै गर्दा प्रदेश र संघमा कांग्रेस र हामी मिलेर चुनाव लडेका हौं। देशैभरी पनि समीकरण गरेर नै चुनाव लडिएको हो। तर गोरखामा जस्तो सौहार्दता अन्यत्र थिएन।’

प्रचण्डले तत्कालीन सत्ता समीकरणबारे जनतालाई गरिएको प्रतिबद्धता र अपिलप्रति जनताले विश्वास व्यक्त गरेको उल्लेख गरे। उनले भने, ‘सुरेन्द्रजी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने र म संघीय सरकारको प्रधानमन्त्री बन्ने कुरा पहिल्यै तय थियो। जनताले त्यसलाई स्वीकार गरे र हामी निर्वाचित भयौं। तर, केन्द्रीय राजनीतिमा देखिएको उतारचढावका कारण समीकरण यथावत् रहन सकेन।’ उनले वर्तमान सत्ता गठबन्धन स्थायीत्वको ग्यारेन्टी नभएको संकेत गर्दै भने, ‘तर पनि फेरि के हुन्छ, राजनीति हो, कतिबेला कहाँ ढल्किने हो भन्न सकिँदैन।’

प्रचण्डले विगतमा कांग्रेस र माओवादीबीचको द्वन्द्व र संघर्षको पनि स्मरण गरे। उनले भने, ‘हिजो लडाइँको मैदानमा एकअर्काका विरुद्ध लडेका हौं। आज हामी सहकार्य गर्दैछौं। इतिहासका ती पाटाहरू भुलेका छैनौं तर अहिले देशलाई स्थायीत्व र विकास चाहिएको बेला सहकार्य अपरिहार्य बनेको हो।’

प्रचण्डको अभिव्यक्तिलाई पछिल्लो समय देखा परेका सत्ता समीकरणबारेको अनिश्चितता र सम्भावित फेरबदलसँग जोडेर हेरिएको छ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहँदा प्रचण्डको यस्तो वक्तव्यले प्रदेश र संघीय सरकार दुवै तहमा गठबन्धनमा पुनः समायोजन हुन सक्ने संकेत दिएको छ। विशेषतः एमालेसँग संघीय सत्ता समीकरणबारे पछिल्ला दिनमा देखिएको निकटता र छलफललाई पनि यसै सन्दर्भमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ