काठमाडौं– आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरू अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ ।
शुक्रवार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसद्को प्रमुख सचेतक, दलका मुख्य सचेतकहरूसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।
डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एव शिक्षक प्रतिनिधिहरूको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टराईले जानकारी दिइन् ।
उनले भनिन्,‘सरकार लचिलो भएर प्रस्तुत भइरहेको छ । शिक्षकका मागहरूलाई दृढताकारसाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभई सिंगो सरकार, संसद्को प्रमुख सचेतक, दलका मुख्य सचेतकहरूसहितको उपस्थितिमा आह्वान गरेको थियौँ तर उहाँहरू आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौँ । उहाँहरू नआएपछि आजको बैठक स्थगित गराएका छौँ ।’
उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरू सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रूपमा पत्राचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।
‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरू सबैलाई आफैँले फोन गरेँ र आमन्त्रण गरेँ । उहाँहरूलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔँ । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौँ । वार्ताका लागि मन्त्रालय सधैँ खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौँ ।’
प्रतिक्रिया