+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सकियाे, ६२ प्रतिशत मत खसेको अनुमान

पालिका लाइभ
२०८१ मंसिर १६, आईतवार

काठमाडौं– स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिए ।

उनका अनुसार ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । ‘लगभग मतदान सकियो, ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ’ उनले भनिन् ।

अधिकांश ठाउँमा मतदान सकिएको जानकारी आएको र जानकारी आउन बाँकी रहेको ठाउँमा पनि मतदान जारी रहेको सूचना नरहेको उनले बताए । उनले भनिन्, ‘निर्धारित समय अगावै मतदान सकिएको बुझिएको छ । लाइनमा रहेका कारणले मतदान जारी रहेको भन्ने सूचना छैन ।’

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी छन् ।

स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।

 आजै रातीवाट परिणाम आउने

आज रातीवाट नै परिणाम आउन सुरु गर्ने आयोगले जनाएको छ । तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

रुकुम पुर्ब जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ