+
Search

ताजा अपडेट +

पपुलर +

दुई महिनामा चुमनुब्री भ्रमणमा आएका पर्यटकबाट ४८ लाख राजस्व संकलन

पालिका लाइभ
२०८१ कार्तिक २३, शुक्रबार

गोरखा– चुमनुब्री गाउँपालिकाले पालिका भ्रमणमा आएका पर्यटकसँग करिब दुई महिनामा साढेँ ४८ लाख राजस्व संकलन गरेको छ । गत गाउँसभाबाट निर्णय गर्दै पालिकाले असोज १ गतेबाट पर्यटकसँग शुल्क संकलन गर्न सुरु गरेको हो ।

कार्तिक २२ गतेसम्म आन्तरिक तथा बाह्य पर्यटकसँग गरी ४८ लाख ४१ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको राजस्व संकलनका लागि राखिएको कर्मचारी विशाल घलेले बताए । सो अवधिमा चार हजार ७७० जना विदेशी र ४०८ जना नेपाली पर्यटक गरी पाँच हजार १७८ जनाले पालिका भ्रमण गरेको उनले जानकारी दिए ।

पालिकाले विदेशीसँग प्रति व्यक्ति एक हजार र नेपालीसँग दुई सय रुपैयाँका दरले राजस्व संकलन गर्दै आएको छ । स्वदेशी पर्यटकको हकमा आन्तरिक रूपमा लार्के पास गर्न आउने र रिसर्च गर्न आउनेहरूसँग मात्र शुल्क उठाउने गरेको बताइएको छ । भरिया र गाइडलाई शुल्क नलाग्ने उनले जानकारी दिए ।

संकलन भएको राजस्व पर्यटकको सुरक्षा र फोहोर मैला व्यवस्थापन गरी डढेलो नियन्त्रणमा प्रयोग गर्ने पालिकाले जनाएको छ । नयाँ तथा वैकल्पिक पदमार्ग निर्माण गरी बाटो पुल मर्मत समेत गरिने बताइएको छ । साथै उक्त रकम खानेपानी निर्माण, सेल्टर तथा चौतारी निर्माण, साइनबोर्ड तथा नक्सा राख्ने कार्यमा समेत खर्च गर्ने उद्देश्य रहेको पालिकाले जनाएको छ ।

सोही रकमले स्थानीयलाई पर्यटन सम्बन्धी तालिम दिई उद्धार तथा राहतमा सहयोग एवं समन्वय गर्ने पनि घलेले बताए । यसै गरी वातावरण संरक्षण, ताल संरक्षण, गुम्बा मर्मत तथा संरक्षण, होमस्ट व्यवसाय प्रवर्द्धनमा पनि सहयोग गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप) क्षेत्रभित्र पर्ने मनासलु क्षेत्र तथा चुमभ्याली जाने पर्यटकसँग सम्बन्धित संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले पनि शुल्क लिँदै आएको छ । पालिकाले पनि शुल्क लिन थालेको भन्दै विरोध समेत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ