+
Search

ताजा अपडेट +

पपुलर +

‘प्रधानमन्त्रीले संसद फेस गर्छु’ भनेपछि राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री

पालिका लाइभ
२०८१ असार २०, बिहीबार

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् ।

राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए । तर, प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उनीहरू राजीनामा नदिएर फर्किएका छन् ।

माओवादी केन्द्रसँगको गठबन्धन लत्त्याउँदै एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।

एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।

पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भन्दै राजीनामा दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका  थिए ।

सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए ।

प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए । प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताए ।

आफूहरु नयाँ गठबन्धनमा नजाने भनिसकेकाले प्रधानमन्त्रीको आग्रहलाई सम्मान गरेको परियारले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ