+
Search

ताजा अपडेट +

पपुलर +

गाेरखामा अलैंची खेती बढी, मुल्य कम

लीलाधर काेइराला
२०७५ श्रावण २८, सोमबार

गोरखा– जिल्लामा यस वर्ष अलैँची खेत गर्ने किसानको संख्या बढेको छ ।

नगदेवाली अलैँचीको गत वर्षको तुलनामा यस वर्ष आठ गुणा बढी क्षेत्रफलमा किसानले अलैँची खेती सुरु गरेका हुन । गत वर्ष तीन देखि पाँच हेक्टर क्षेत्रफलमा अलैँची रोपेका किसानले यसवर्ष १५ हेक्टर क्षेत्रफलमा विस्तार गरेका हुन ।

गोरखाका किसानले जिल्ला भर ७५ हेक्टर क्षेत्रफलमा गोल्साई, रामसाई र साउने जातका अलैँची खेती गरेका छन् । तर, किसानले सोचेको जस्तो मूल्य पाउन सकेका छैन ।

जिल्लामा अलाैंचीकाे पकट क्षेत्र भनेर चिनिँदै आएको अजिरकाेट गाउँपालिका, सिरानचाेक गाउँपालिका र धार्चे गाउँपालिका किसानले खेती गर्ने जमिनमा मनग्य आम्दानीले आउने आशाले अलाैंची खेती गरे, तर सोचेजस्तो राम्रो मूल्य (भाउ) पाउन सकेन ।

अजिरकाेट गाउँपालिका-२, खरिबाेटका किसान कालिका धितालले ४ रोपनी क्षेत्रफलमा अलाैंची लगाएका छन् । ‘पाखो, भिरालो अनि सेपिलो ठाउँ भएर अलाैंची खेती लगाए तर उत्पादन भएको अलाैंचीकाे सोचेजस्तो मूल्य दिएनन्’ उनी भन्छन् ।

‘अलैँचीको भाउ त ह्वात्तै घट्यो, तर, यहाँ मान्छेले झन् धेरै क्षेत्रफलमा खेती गरेका छन्’ अजिरकोटका विष्णु अधिकारीले भने ‘बिक्री मूल्य कमै भए पनि अलि सेपिलो खेतमा धान लगाउन भन्दा अलैँची लगाउन फाइदै छ ।’ सेपिलो र पानीको स्रोत भएको जमिनमा अलैँचीको राम्रो उत्पादन हुने भएकाले किसानको रोजाइमा अलैँची परेको उनको भनाई छ ।

‘यसको खेती गर्ने किसानहरू ह्वात्तै बढेका छन्’ खरिबाेटका किसान चूडामणि ढकालले भने ‘अहिले अलैँची गाेडमाेल गर्ने सिजन छ । हरेक वर्ष अलैँची खेतीको क्षेत्रफल बढे पनि उत्पादन बढेन ।’

जिल्ला कृषि विकास कार्यालयले गोरखाले जिल्लाका केही क्षेत्रलाई अलैँचीको पकेट क्षेत्रकै रूपमा विकास गरिरहेको छ । अजिरकोट गाउँपालिका, अहिले जिल्लामा सबै भन्दा धेरै अलैँची खेती हुने क्षेत्र हो । अजिरकोटसँगै सिरानचोक, बारपाक सुलिकोट, सिरानचाेक र धार्चेमा पनि अलैँचीको व्यावसायिक खेती सुरु भएको छ ।

जिल्लाका किसानले सबैभन्दा धेरै रामसाई जातका अलैँची लगाउने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सरकारले अलैँची किसानलाई पर्याप्त तालीम तथा रोग नियन्त्रणका बारेमा आवश्यक ज्ञान सीप नदिएकोले किसानहरू पूर्ण व्यावसायिक हुन नसकेको किसानहरूको गुनासो गरेका छन् ।

प्रतिगोटा बिरुवा १० रुपैयाँ

आर्थिक वर्ष २०७५\०७६ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । अलैँची धेरै हुने मध्येको जिल्ला गोरखामा अलैँचीको बिरुवाको पनि सरकारी बिक्री दर तोकिएको छ । अब किसानले प्रतिगोटा बिरुवा १० रुपैयाँको दरले बिक्री गर्न सक्नेछन् । त्यस्तै खच्चडबाट सामान ढुवानी गर्दा प्रतिकेजी दुई रुपैयाँ तीन पैसा लाग्ने गरेर रेट तोकिएको छ । ट्रकले पक्की सडक भएको क्षेत्रमा सामान बोक्न परे प्रतिटन प्रतिकिलो १८ रुपैयाँ सात पैसा लिन पाउने भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला