काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले राष्ट्रिय संकटको सामना गर्न एकजुट बन्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको बताए।
उनले भने, ‘अहिले लामो बहस वा राजनीतिक आग्रह-पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्धार, राहतमा जुट्ने समय हो।’
तत्कालीन खोजी, उद्धार र राहतसँगै यस्ता विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने बताए।
उनले थपे, ‘तर अहिले हाम्रो पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु हो। खोज, उद्धार, उपचार, राहत र पुनर्स्थापना लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ। यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्छ।’
विशेषगरी हिमाली क्षेत्रमा विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने बताए।
उनले थपे, ‘यो घटना नेपालले मात्र भोगिरहेको समस्या होइन भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्दै जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको प्रश्नलाई सशक्त रूपमा उठाउनुपर्छ।’
विपत्तिमा राजनीति नभई राष्ट्रिय एकता चाहिने बताए। कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको स्मरण गरे।
उनले भने, ‘आज पनि देशमा राजनीतिक मतभेद र विमति छन्। लोकतन्त्रमा ती स्वाभाविक हुन्। तर विपत्तिका बेला ती मतभेदलाई केही समय थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्छ। रसुवाको भोटेकोशी बाढीले सिर्जना गरेको यो गम्भीर संकटबाट पार पाउन सरकारलाई हाम्रो पार्टीको पूर्ण साथ र सहयोग रहनेछ।’
प्रतिक्रिया