+
Search

ताजा अपडेट +

पपुलर +

पूर्वाधारमन्त्रीलाई साथमा लिएर बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए प्रधानमन्त्री शाह

फाइल तस्बिर
पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पूर्वाधारमन्त्री सुनिल लम्साललाई साथमा लिएर बिहीबार बिहान नुवाकोटतर्फ निस्किएका छन्।

प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र विदुरतर्फ प्रस्थान गरेका हुन्। उनीहरूले विदुर तथा आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।

बुधवार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छन्।

बाढीपछि उनले उच्चस्तरीय बैठक बोलाएर प्रभावितको उद्धार, राहत र अवरुद्ध पूर्वाधार तत्काल सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्री लम्सालले बाढीबाट भएको भौतिक क्षतिको अवस्था बुझ्नेछन्। उनीहरूले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावितको उद्धार, राहत, पुनः स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्नेछन्।

बाढीका कारण क्षतिग्रस्त सडक, पुललगायत पूर्वाधारको अवस्थाबारे जानकारी लिएर तत्काल सञ्चालनका लागि आवश्यक निर्देशन दिने तयारीसमेत रहेको छ।

बुधवार भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुनुका साथै कतिपय बस्तीमा मानवीय तथा भौतिक क्षति भएको छ।

सरकारले प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार, राहत, स्वास्थ्य उपचार र पुनः स्थापनाको काम अघि बढाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ