+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण

पालिका लाइभ
२०८३ भाद्र ४, बिहीबार

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा नवनिर्मित आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ।

बैंकको नयाँ केन्द्रीय कार्यालयको बुधवार एक समारोहबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले समुद्घाटन गरेका हुन् । नयाँ कार्यालयको उद्घाटनसँगै हालसम्म काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण भएको छ।

गरिमा विकास बैंकले २०६४ साल कात्तिक १८ गते स्याङ्जाको वालिङबाट औपचारिक रूपमा वित्तीय कारोबार सुरु गरेको थियो। बैंकले २०६७ साल वैशाख १ गते केन्द्रीय कार्यालय कास्कीको महेन्द्रपुलमा स्थानान्तरण गरेको थियो। राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्तरोन्नति भएपछि २०७३ साल चैत २७ गते पोखराबाट काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय सारिएको थियो।

नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटनका अवसरमा कार्यालय परिसरमा निर्माण गरिएको मन्दिरमा शिव पाञ्चायन प्राणप्रतिष्ठासहित धार्मिक पूजाआजा पनि गरिएको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायका पदाधिकारी, बैंकका सञ्चालक समिति सदस्य, पूर्वपदाधिकारी, उच्च व्यवस्थापनका अधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सेयरधनी, कर्मचारी तथा ग्राहकहरूको उपस्थिति थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले २०६४ सालमा स्याङ्जाको वालिङबाट सुरु भएको बैंकको यात्रा पोखरा हुँदै २०७३ सालमा काठमाडौं पुगेको र आफ्नै स्वामित्वको भवनमा केन्द्रीय कार्यालय सञ्चालनमा आएसँगै बैंकको विकास यात्राको अर्को अध्याय सुरु भएको बताए।

उनले बैंकको सफल व्यावसायिक यात्रामा लाखौँ ग्राहक, हजारौँ सेयरधनी, नियमनकारी निकाय, व्यावसायिक साझेदार संस्था तथा कर्मचारीको मेहनत र योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। संस्थागत सुशासनलाई पनि बैंकको सफलताको महत्त्वपूर्ण आधारका रूपमा उनले औँल्याए।

त्यसैगरी, बैंकका अध्यक्ष दिलीप प्रताप खाँणले ग्राहकलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थागत सुशासन, प्रविधि, नवप्रवर्तन र दिगो विकासलाई प्राथमिकतामा राख्दै बैंकलाई आगामी दिनमा थप सशक्त रूपमा अघि बढाउने बताए।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएममार्फत करिब १० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ