रामेछाप– खाँडादेवी गाउँपालिकामा कार्यरत २२ जना प्राविधिक कर्मचारीले कार्यस्थलमा निरन्तर दबाब, दुर्व्यवहार, कुटपिटको प्रयास तथा ज्यानको धम्की खेप्नुपरेको भन्दै सामूहिक रूपमा राजीनामा दिएका छन्।
गाउँपालिकाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इन्जिनियर र असिस्टेन्ट सब–इन्जिनियरहरूले असार ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। उनीहरूले पूर्वाधार शाखाबाट हुने सम्पूर्ण प्राविधिक कामसमेत स्थगित गरेका छन्।
विज्ञप्तिमा केही समययता उपभोक्ता समितिसँग सम्बन्धित तथा अन्य व्यक्तिहरूबाट प्राविधिक कर्मचारीमाथि अनावश्यक दबाब, धाकधम्की र असुरक्षा सिर्जना गर्ने गतिविधि बढ्दै गएको उल्लेख छ।
गाउँपालिकाका अनुसार असार ९ गते सम्पन्न २०औँ गाउँसभाको अधिवेशनका क्रममा कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृतसहित प्राविधिक कर्मचारीमाथि दुर्व्यवहार र हातपातको प्रयास भएको थियो। त्यसपछि असार ११ गते पूर्वाधार शाखाभित्रै कर्मचारीमाथि गालीगलौज, अपशब्द प्रयोग तथा हातपातको धम्की दिइएको घटनापछि प्राविधिक कर्मचारीले सामूहिक रूपमा राजीनामा दिने निर्णय गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत युगेश कुमार यादवका अनुसार पछिल्ला घटनापछि कर्मचारीहरूले आफूलाई अत्यन्त असुरक्षित महसुस गरेका छन्। विधि र प्रक्रियाअनुसार काम गर्दा समेत विभिन्न किसिमका दबाब र अवरोध खेप्नुपरेकाले फिल्डमा कर्मचारी खटाउन सक्ने अवस्था नरहेको उनले बताएका छन्।
गाउँपालिकाले राष्ट्रसेवक कर्मचारीले भयमुक्त र सुरक्षित वातावरणमा काम गर्न पाउने संवैधानिक अधिकारमाथि आघात पुगेको जनाएको छ। कर्मचारीमाथि भइरहेको मानसिक दबाब र भौतिक असुरक्षाले विकास निर्माणका काम तथा सेवा प्रवाहमा गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ। साथै समस्या तत्काल समाधान नभए विकास निर्माणका आयोजना मात्र होइन, समग्र सेवा प्रवाह नै प्रभावित हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया