काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पार्टीको दुस्मन नभई राजनीतिक प्रतिस्पर्धी भएको बताएका छन्।
रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले पार्टी स्थापनाको छोटो अवधिमै रास्वपाले हासिल गरेको सफलता प्रशंसनीय र लोभलाग्दो रहेको बताए।
‘पार्टी गठन भएको चार वर्षमै तपाईंहरूले पाउनुभएको सफलता लोभलाग्दो छ। पार्टीमा सभापति रवि लामिछाने र सरकारमा प्रधानमन्त्री बालेन्द्र शाहले कुशल नेतृत्व गर्नुभएको छ। तपाईंहरू दुवैलाई बधाई छ,’ थापाले भने।
उनले लोकतान्त्रिक संस्कारको मूल आधार आफ्नै नेतृत्वमाथि प्रश्न गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै कार्यकर्तालाई नेतृत्वप्रति आलोचनात्मक चेत राख्न आग्रह गरे।
‘तपाईंहरूका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्यौँ, तपाईंहरूले नगर्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट राख्नुहोला,’ उनले भने।
थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनसमर्थनलाई नेपाली राजनीतिक इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एकको संज्ञा दिए। उनका अनुसार चार वर्षको अवधिमा प्राप्त जनमत जनताको ठूलो अपेक्षा र विश्वासको संकेत हो।
‘यति छोटो समयमा यति ठूलो जनमत प्राप्त गर्नु सामान्य कुरा होइन। यो जनताको ठूलो अपेक्षा र विश्वासको संकेत हो,’ उनले भने।
यद्यपि, इतिहासमा नयाँ राजनीतिक शक्तिहरूले प्राप्त गरेका अवसर नेतृत्वको अहंकार, आन्तरिक द्वन्द्व र सत्तामोहका कारण गुमेका उदाहरणहरू रहेको स्मरण गराउँदै उनले रास्वपालाई त्यस्ता कमजोरीबाट जोगिन सुझाव दिए।
‘इतिहासमा पटक–पटक जनताले नयाँ शक्तिलाई अवसर दिएका छन्। तर नेतृत्वबीचको अहंकार, टकराब र सत्ताको उन्मादका कारण ती अवसरहरू दुर्घटनामा परेका छन्। रास्वपाको हकमा त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो शुभेच्छा हो,’ उनले भने।
राजनीतिक प्रतिस्पर्धा स्वस्थ र रचनात्मक हुनुपर्नेमा जोड दिँदै थापाले कुनै दललाई कमजोर बनाएर आफूहरू बलियो बन्न नचाहेको स्पष्ट पारे।
‘हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौँ। हामी आफूलाई सुधारेर, राम्रो काम गरेर र जनताको विश्वास जितेर अगाडि बढ्न चाहन्छौँ,’ उनले भने।
संसदीय लोकतन्त्रमा विपक्षी दलको भूमिका केवल विरोधमा सीमित नहुने उल्लेख गर्दै उनले सरकारले गलत निर्णय गर्दा विरोध र सही काम गर्दा समर्थन गर्ने संस्कारलाई कांग्रेसले आत्मसात् गरेको बताए।
आफ्नो पार्टीप्रति आत्मालोचनात्मक टिप्पणी गर्दै थापाले विगतका वर्षहरूमा कांग्रेस सत्ता, गठबन्धन र चुनावी अंकगणितमा बढी केन्द्रित भएको स्वीकार गरे। उनले अहिले पार्टीभित्र सुधार, आत्मसमीक्षा र पुनःसंरचनाको आवश्यकता महसुस गरिएको बताए।
‘हामी अहिले अरूसँग भन्दा बढी आफ्नै कमजोरीसँग लडिरहेका छौँ। बाहिरको प्रतिस्पर्धाभन्दा पहिले घरभित्रको सुधार आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौँ,’ उनले भने।
प्रतिक्रिया