काठमाडाैं– सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत घोषणा गरेको तलब वृद्धिपछि मुख्यसचिवदेखि बहिदारसम्म सबै तहका कर्मचारीको आधारभूत तलब बढेको छ।
नयाँ व्यवस्थाअनुसार मुख्यसचिवको आधारभूत तलब ७७ हजार २९९ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ। यससँगै मुख्यसचिवले मासिक ७ हजार ६२९ रुपैयाँ बढी पाउने भएका छन्।
सचिवको तलब ७२ हजार ८२ रुपैयाँबाट बढेर ७९ हजार २९० रुपैयाँ पुगेको छ भने सहसचिवको तलब ५६ हजार ७८७ रुपैयाँबाट बढेर ६२ हजार ४६६ रुपैयाँ कायम भएको छ।
त्यस्तै, उपसचिवको आधारभूत तलब ४८ हजार ७३७ रुपैयाँबाट बढेर ५३ हजार ६९१ रुपैयाँ पुगेको छ। अधिकृतको तलब ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ भने नायब सुब्बाको तलब ३४ हजार ७३० रुपैयाँबाट बढेर ३८ हजार २०३ रुपैयाँ पुगेको छ।
तल्लो तहका कर्मचारीमध्ये खरिदारको तलब ३२ हजार १०२ रुपैयाँबाट बढेर ३६ हजार १९२ रुपैयाँ पुगेको छ। मुखियाको तलब २७ हजार ६९२ रुपैयाँबाट बढेर ३० हजार ३५३ रुपैयाँ कायम भएको छ भने बहिदारको तलब २६ हजार ८२ रुपैयाँबाट बढेर २८ हजार ६९० रुपैयाँ पुगेको छ।
तलब वृद्धिपछि रकमका हिसाबले मुख्यसचिवले सबैभन्दा बढी ७ हजार ६२९ रुपैयाँ थप पाउने भएका छन् भने बहिदारले २ हजार ६०८ रुपैयाँ थप प्राप्त गर्नेछन्।
सरकारले चार वर्षपछि कर्मचारीको तलब वृद्धि गरेको हो। सरकारले बढ्दो महँगी र कर्मचारीको जीवनयापन खर्चलाई मध्यनजर गर्दै तलब समायोजन गरिएको जनाएको छ।
प्रतिक्रिया