काठमाडौं– नयाँ वर्ष वि.सं. २०८३ को आगमनसँगै यसको वार्षिक फलादेश सार्वजनिक भएको छ। पोखराका ज्योतिषी भवेशका अनुसार यस वर्षको ग्रहस्थितीले देशमा आशा र चुनौती दुवैको मिश्रित अवस्था देखाउने संकेत गरेको छ। उनका अनुसार यस वर्षका राजा बृहस्पति र मन्त्री मंगल रहेका छन्, जसले समग्र वर्षको प्रवृत्तिलाई प्रभाव पार्नेछ।
ज्योतिषीय विश्लेषणअनुसार न्याय र धर्मका कारक मानिने बृहस्पति राजा रहनुले सिद्धान्ततः सकारात्मक संकेत दिने भए पनि उग्रता र द्वन्द्वका प्रतीक मंगल मन्त्री हुनुका कारण वर्षभर अस्थिरता र तनावको अवस्था पनि देखिन सक्ने अनुमान गरिएको छ। संवत्सर परिवर्तनको क्रममा सिद्धार्थी संवत्सरको समाप्तिसँगै रौद्रनामक संवत्सर सुरु भएको छ भने आगामी चरणमा दुर्मति संवत्सरको प्रभाव देखिने जनाइएको छ। यसले शासक र जनताबीच असन्तुलन, निर्णय क्षमतामा कमजोरी र समग्र वातावरणमा अन्यौलता बढाउन सक्ने आंकलन गरिएको छ।
वर्षको सुरुवाती महिनाहरूमा मूल्यवृद्धि तीव्र हुने संकेत गरिएको छ। विशेषगरी जेठ महिनामा परेको अधिकमासका कारण तेल, घिउ तथा धान्यजस्ता अत्यावश्यक वस्तुको मूल्यमा उल्लेख्य वृद्धि हुन सक्ने बताइएको छ। साथै, यस अवधिमा सशस्त्र द्वन्द्वको जोखिम, राजनैतिक अस्थिरता तथा सुरक्षासम्बन्धी चुनौती पनि बढ्न सक्ने उल्लेख गरिएको छ। वैशाख २३ देखि जेठ ४ गतेसम्मको समयलाई विशेष संवेदनशील मानिएको छ, जस अवधिमा आन्तरिक राजनीतिक द्वन्द्व र बाह्य प्रभाव बढ्न सक्ने अनुमान गरिएको छ।
कृषि क्षेत्रतर्फ भने केही सकारात्मक संकेत देखिएका छन्। अनुकूल वर्षा, गहुँ, धान, उखुजस्ता बालीको उत्पादनमा वृद्धि तथा दुग्ध उत्पादनमा सुधार हुन सक्ने उल्लेख गरिएको छ। यसले कृषक वर्गलाई केही राहत दिने अपेक्षा गरिएको छ। यद्यपि, रोग, चोरी–डकैती र जनसुरक्षासम्बन्धी चुनौती बढ्न सक्ने चेतावनी पनि दिइएको छ।
आर्थिक क्षेत्रमा राजस्व संकलनमा गिरावट आउने र आयातमुखी संरचनाका कारण दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्र कमजोर बन्न सक्ने सम्भावना औँल्याइएको छ। सामान्य आर्थिक गतिविधि भइरहे पनि संरचनागत सुधार अभावले अर्थतन्त्र जटिल बन्न सक्ने विश्लेषण गरिएको छ।
देशभित्र आर्थिक कठिनाइ बढेसँगै आन्तरिक कलह चर्किने र त्यसको प्रभावमा बाह्य शक्तिको चलखेल बढ्न सक्ने जनाइएको छ। यसले राष्ट्रिय स्वायत्तता र सुरक्षा प्रणालीमा चुनौती थप्न सक्ने देखिएको छ। कूटनीतिक गतिविधि भने बढ्ने, तर राज्य संयन्त्रभित्र समन्वयको अभाव रहने सम्भावना औँल्याइएको छ।
विश्वव्यापी सन्दर्भमा केही शक्तिशाली राष्ट्र आर्थिक रूपमा सुदृढ बन्ने संकेत गरिएको छ भने केही देशहरू आन्तरिक संकट र दैवी प्रकोपको जोखिममा पर्न सक्ने बताइएको छ। यसले अन्तर्राष्ट्रिय सन्तुलनमा उतारचढाव ल्याउन सक्ने देखिएको छ।
ज्योतिषी भवेशका अनुसार यस वर्ष धर्म र शक्ति, पुरातनता र आधुनिकताबीचको द्वन्द्व तीव्र हुने संकेत देखिए पनि अन्ततः सत्यको विजय र असत्यको पराजय हुने ग्रहयोग रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया