+
Search

ताजा अपडेट +

पपुलर +

‘सहकारी पीडितको बचत फिर्ता गर्न तीनै तहका सरकारले कोष स्थापना गर्नुपर्छ’

पालिका लाइभ
२०८२ चैत्र २६, बिहीबार

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितको बचत फिर्ता गर्न संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्तरबाट कोष स्थापना गर्नुपर्ने बताएका छन् ।

संघ प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ अनुसार) सहकारीतर्फको विषयगत समितिको पाँचौँ बैठकमा सम्बोधन गर्दै सचिव भुजेलले सहकारीमा देखिएको समस्या डरलाग्दो भएको र यो संघले मात्रै हल गर्न नसक्ने बताएका हुन् ।

उनकाअनुसार केन्द्रमा कोष स्थापना गरेर साना सहकारी बचतकर्ताको सहकारीको रकम फिर्ता गर्न थालिएको छ । सोही  मोडालिटीमै प्रदेश र स्थानीय तहले पनि काम अघि बढाउनुपर्छ ।

सचिव भुजेलले  प्रदेश तथा स्थानीय तहले आफ्नो बजेटबाट यस्तो कोष बनाउनुपर्ने बताए । अर्को वर्षको बजेटमा संघीय सरकारले पनि त्यस्तो कोषमा धेरै पैसा राख्ने तयारी गरेको उनले जानकारी दिए । त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिँदैछ । यो वर्ष पनि त्यस्तो कोषमा राखिएको पैसा सरकारले वितरण गर्न लागेको उनको भनाइ छ ।

सचिव भुजेलले भने, ‘हामीले केन्द्रमा फन्ड स्थापना गरेर सहकारीको रकम फिर्ता गर्न थालेका छौँ । हामीले गरेको मोडालिटी ठिक लाग्छ भने प्रदेश स्थानीय तहले पनि त्यो अवलम्बन गर्नुपर्छ । संघको जस्तै प्रदेश स्थानीय तहले पनि आफ्नो बजेटबाट त्यस्तो फन्ड बनाउन सक्छन् । आगामी वर्षको बजेट निर्माणको प्रक्रिया सुरु भएको छ । त्यो बजेटमा पनि साना सहकारी पीडितलाई तत्काल राहतका लागि केही पैसा व्यवस्था गर्न कोष बनाउन प्रदेश स्थानीय तहले सक्नेछन् । अर्को वर्षको बजेटमा संघीय सरकारले पनि त्यस्तो कोषमा पैसा राख्दैछ । त्यसका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिँदैछ । यो वर्ष पनि त्यस्तो कोषमा राखिएको पैसा हामीले वितरण गर्दैछौँ । त्यसका लागि एउटा सहकारी मन्त्रालयले कार्यविधि पनि बनाएको छ । कसरी वितरण गर्ने र कसलाई प्राथमिकता दिने भन्ने सन्दर्भमा कार्यविधिमा व्यवस्था गरिएको छ ।’

मन्त्रालयले सहकारी पीडितलाई रकम वितरण गर्न कार्यविधि बनाएको उल्लेख गर्दै सचिव भुजेलले प्रदेश र स्थानीय तहले पनि त्यसरी नै कार्यविधि बनाउन सक्ने बताए ।

सचिव भुजेलले सहकारी समस्या समाधान गर्न संघबाट मात्र अनुदान पठाएर नहुने स्पष्ट पारे । सहकारीको समस्या समाधान गर्न  हरेक सरकारले आफ्नो जिम्मेवारीको महसुस गर्न जरुरी रहेको उनको भनाइ छ ।

सचिव भुजेलले सहकारी समस्या राष्ट्रिय समस्या भएकाले यसलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै संघ, प्रदेश र स्थानीय तह एकमत भएको बताए ।

उनकाअनुसार साना समस्याग्रस्त सहकारीहरूको समस्या समाधानका लागि र बचतकर्ताको रकम फिर्ताका लागि संघ, प्रदेश र स्थानीय तह बैठकबाट एकमत भएको छ ।

बैठकमा सचिव भुजेलले मालपोत र नापी सम्बन्धी सेवा आगामी वर्षदेखि स्थानीय तहबाटै सुरु हुने बताए ।

उनकाअनुसार पुर्जा वितरणदेखि अन्य काम पनि त्यहीबाट गरिँदैछ । यसमा पनि स्थानीय तह तयार हुनुपर्छ । आवश्यक कर्मचारी र पूर्वाधारको व्यवस्था स्थानीय तहले गर्न जरुरी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ