काठमाडाैं– राप्ती नगरपालिकामा लामो समयदेखि सम्पर्कविहीन भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले भावुक स्ट्याटससहित हाजिर हुन आउन सामाजिक सञ्जालबाट अनुरोध गरेका छन् ।
मेयर लामाले एक महिनादेखि आफ्नो सम्पर्कमा नरहेका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको फोटो र हाजिर हुन फागुन २५ मा गरिएको ताकेताको पत्र सामाजिक सञ्जालमा राख्दै ‘घर बस्न दिक्क लाग्यो होला, अफिस आउनुस्’ भनेका हुन् ।
नगरपालिका राजनीतिक खिचातानीका कारण अहिलेको नेतृत्व आएदेखि नै विवादमा परेको स्थानीय तह हो ।

Screenshot
नियमित नगरसभा, कार्यपालिका बैठक, नगरपरिषद् समेत गर्न नसक्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत समस्या हुने गरेको छ ।
यस वर्ष पनि गत पुस ३० गते नगरसभा सम्पन्न भएको थियो ।
नगरसभा सम्पन्न हुनुअघि आफूले काम गर्न नसकी उपप्रमुखलाई कार्यवाहक दिएका नगरप्रमुख लामा ४ महिनापछि फागुन ८ गते कार्यालय फर्किएका थिए ।
फागुन ८ गते आफू कार्यालय गएकै भोलिपल्टदेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआएका लामा बताउँछन् ।
मेयर भन्छन्, ‘उहाँले बिदा लिएको बारे अफिसियल्ली केही थाहा छैन । मन्त्रालय तिरै लिएको भए के जान्नु !’
मेयर लामाको स्टास यस्तो छ-
सुरेन्द्र प्रधान सर (प्रमुख प्रशासकीय अधिकृत) नमस्कार । धेरै भयो हजुर नगरपालिकामा नबस्नु भको, अब त घर बस्न पनि दिक्क भो होला । नगरका धेरै जनताका काम अपुरा छन्, नगर ठप्प भाको छ । म हजुरलाई बिन्ति गर्छु, आउनुस्, काम गर्नुस, मैले भनेका काम गर्नु पर्दैन, अहिलेसम्म गर्नु पनि भाको छैन । कानुनसँग मेल खाने काम गर्नुस् । कानुनले धेरै अधिकार तपाईं जस्तै कर्मचारीलाई दिएको छ । जनतालाई खुशी पारौँ हामी मिली । जनताका खुशी नै हाम्रो खुशी हो ।
फागुन ८ गतेदेखि हाजिर नभए पनि नगरपालिकाका कर्मचारीलाई भने घरबाटै कागजी हस्ताक्षरको काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरेका छन् । नगरपालिकाको अफिसियल सम्पर्क नम्बर स्वीच अफ गरेर कार्यालयमा नै छाडेर प्रमुख प्रशासकीय अधिकृत घर बसेको नगरपालिका स्रोतले बताएको छ ।
प्रतिक्रिया