+
Search

ताजा अपडेट +

पपुलर +

अब ‘फिक्स्ड डिपोजिट’मा केन्द्रित लगानीबाट बाहिर निस्किनु पर्छ : अध्यक्ष कोइराला

पालिका लाइभ
२०८२ चैत्र ४, बुधबार

काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालाले ‘फिक्स्ड डिपोजिट’मा केन्द्रित लगानीबाट बाहिर निस्कँदै हाइब्रिड इन्स्ट्रुमेन्टतर्फ विस्तार गर्नुपर्ने बताएका छन् ।

नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले हालको न्यून ब्याजदरले लगानी विविधीकरणको आवश्यकता बढाएको बताएका हुन् ।

उनले भने, ‘अहिले ‘फिक्स्ड डिपोजिट’को रेट २।७५ प्रतिशतसम्म झरेको छ, जुन एकदमै न्यूनतम विन्दु हो । यस्तो अवस्थामा हाइब्रिड इन्स्ट्रुमेन्टहरूमा अलिकति लगानी विस्तार गरियो भने कन्सेन्ट्रेशन कम हुन्छ र दीर्घकालमा आम्दानीको सर्टेनिटी पनि कायम रहन्छ ।’

नयाँ वित्तीय उपकरणहरूले क्यापिटल मार्केटको विकासमा समेत टेवा पुर्‍याउने उनले बताए ।

अध्यक्ष कोइरालाले भने, ‘डिपोजिट प्रोडक्टमै मात्र निर्भर हुँदा बजारले ड्राइभ गर्छ । कहिले १२ प्रतिशतसम्म पुग्छ, कहिले २।७५ मा झर्छ । त्यसैले वैकल्पिक इन्स्ट्रुमेन्टले स्थायित्व दिन्छ ।’

अध्यक्ष कोइरालाका अनुसार विभिन्न खालका मार्केटहरूमा अहिले ‘हाइब्रिड इन्स्ट्रुमेन्ट’हरू आइरहेका छन् । त्यसमा लगानीलाई विस्तार गरियो भने त्यो कन्सेन्ट्रेशन कम भएर जान्छ । त्यसले एउटा नयाँ क्यापिटल मार्केटको विकास पनि हुन्छ । नयाँ आएका इन्स्ट्रुमेन्टहरूमा लगानी गर्दै जाने हो भने विविधीकरण पनि हुन्छ । एक प्रकारको इन्कमको सर्टेनिटी पनि सधैँ भइरहने हुन्छ ।

बैंकिङ क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै उनले देशभर करिब ७७ खर्ब रुपैयाँ निक्षेप संकलन भएको र ५८ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको बताए । हाल कर्जा वृद्धिदर करिब ३।९ प्रतिशतमा सीमित रहेको उनको भनाइ छ ।

यस्तै, उनले बैंकिङ प्रणालीमाथि बढ्दो चुनौतीप्रति चिन्ता व्यक्त गरे । बैंक तथा कर्मचारीमाथि हुने धम्की, कालोमोसो दल्ने र सार्वजनिक रूपमा नाम सार्वजनिक गर्ने जस्ता गतिविधिले समग्र आर्थिक वातावरण बिगार्ने उनले उल्लेख गरे ।

‘ऋण लिनु पर्दैन, तिर्नु पर्दैन, राज्यले तिर्दिन्छ भन्ने भाष्य फैलिँदै जानु अर्थतन्त्रका लागि घातक हो’, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ