काठमाडाैं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन्।
आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नुस् है गल्ती हुन्छ भनेर बारम्बार संसदमा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरे।
उनले भने, ‘त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिएँ सङ्ख्याले केही नापिँदैन। बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ।’
उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरे। ‘इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,’ प्रचण्डले भने, ‘तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु।’
त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो।
रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठुलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठुलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए।
पूर्व प्रधानमन्त्रीहरू मध्येमा अहिले आफू मात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए।
जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्याएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठुलो भारी बोक्नुपर्ने स्थिति आएको उनले बताए।
प्रतिक्रिया