+
Search

ताजा अपडेट +

पपुलर +

धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी महानगरलाई, सुन्धारामा पानी ल्याउने र निकास खोल्ने जिम्मेवारी

पालिका लाइभ
२०८२ फाल्गुन ९, शनिबार

काठमाडौं– सुन्धारामा पानी ल्याउने तथा पानीको निकास खुलाउने कामको जिम्मेवारी अब काठमाडौं महानगरपालिका ले वहन गर्ने भएको छ । साथै धरहरा भित्र भूमिगत तलामा निर्माण गरिएको पार्किङ स्थलको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पनि महानगरलाई दिने निर्णय गरिएको छ ।

शुक्रवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहरी विकास मन्त्री कुमार इङ्नाम, महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, गृहसचिव राजकुमार श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देललगायत उच्च अधिकारी सहभागी थिए ।

बैठक सुन्धारा–धरहरा क्षेत्रमा स्थलगत अवलोकनपछि बसेको थियो ।

धरहराको भूमिगत तलामा निर्माण गरिएको पार्किङ स्थलमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता रहेको छ । नयाँ सडक तथा आसपासका क्षेत्रमा अव्यवस्थित पार्किङ बढ्दै गएको सन्दर्भमा यो स्थललाई व्यवस्थित र सुरक्षित विकल्पका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ ।

अवलोकनका क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, महानगरको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक एवं वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीय प्रतिनिधिहरू सहभागी थिए ।

बैठकले धरहरा क्षेत्रको तत्कालीन तथा दीर्घकालीन सञ्चालन व्यवस्थापनका लागि सहरी विकास मन्त्रालय र महानगरपालिकाका अधिकारी सम्मिलित एक समिति गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त समितिले सञ्चालन मोडालिटी, सुरक्षा व्यवस्थापन, पार्किङ सञ्चालन, पर्यटक व्यवस्थापन तथा समग्र क्षेत्रको सौन्दर्यीकरणबारे विस्तृत प्रारूप तयार पार्नेछ ।

बैठकमा गृहमन्त्री अर्यालले यस्ता संरचनाको सञ्चालन तथा व्यवस्थापन स्थानीय सरकारमार्फत गर्नु उपयुक्त हुने धारणा राखे । सहरी विकास मन्त्री इङ्नामले पुनर्निर्माण योजनामा नसमेटिएका तर धरहरा क्षेत्रको सुन्दरता र प्रभावकारी व्यवस्थापनका लागि आवश्यक काम महानगरलाई जिम्मा दिनुपर्ने बताए ।

महानगरकी कार्यवाहक प्रमुख डंगोलले धरहरा क्षेत्रको व्यवस्थापनको दायित्व लिन महानगर तयार रहेको स्पष्ट पारिन् ।

उनले २०५५ सालमै साविक स्थानीय निकायलाई हस्तान्तरण गरिएको संरचना स्थानीय सरकारकै मातहत सञ्चालन हुनुपर्ने धारणा राख्दै सुरक्षित र व्यवस्थित पार्किङ सेवा तत्काल आवश्यक रहेको उल्लेख गरिन् । नयाँ सडक क्षेत्रमा सडक पार्किङ निषेध गरिए पनि वैकल्पिक व्यवस्था पर्याप्त नभएकाले सुन्धारा क्षेत्रलाई व्यावसायिक तथा प्रशासनिक गतिविधिका लागि व्यवस्थित पार्किङ हबका रूपमा विकास गरिने उनको भनाइ थियो ।

महानगर प्रहरी बल परिचालन गरी सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने तयारी गरिएको उनले बताइन् ।

स्थानीय प्रतिनिधि गौतम डंगोलले दुई मन्त्रालयका मन्त्री तथा महानगर नेतृत्व धरहरा क्षेत्रमा आएर छलफल गर्नु सकारात्मक भएको बताउँदै महानगरले व्यवस्थापन सम्हाले स्थानीयमा अपनत्वको भावना अझ मजबुत हुने धारणा राखे ।

२०७२ सालको विनाशकारी भूकम्पले ढलेको धरहराको पुनर्निर्माण २०७५ साल पुस १२ गते भूमिपूजन र शिलान्याससँगै सुरु गरिएको थियो । करिब ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २४० रुपैयाँ लागतमा जीआइइटीसी–रमन जेभी कम्पनीले पुनर्निर्माण सम्पन्न गरेको हो ।

हाल निर्माण भएको धरहरा ७९.२ मिटर (२५७.४ फिट) अग्लो छ । बाहिरबाट ११ तला देखिए पनि भित्र २२ तला रहेका छन् । २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट जडान गरिएको छ, जसमा एकपटकमा १० जना अट्न सक्छन् । २० औँ तलामा ५४ जनासम्म अट्ने अवलोकन वार्दली निर्माण गरिएको छ । भुइँ तलामा धरहरासम्बन्धी संग्रहालय निर्माण गर्ने योजना छ भने भूकम्पमा भत्किएको पुरानो धरहराको अवशेषलाई शिशाले घेरेर संरक्षित गरिएको छ ।

परिसरमा बगैंचा र ५० फिटसम्म पानी उचाल्न सक्ने क्षमताको फोहोरा निर्माण गरिएको छ । साविक धरहरा, सुन्धारा, वैदेशिक हुलाक र टक्सारको जमिनलाई एकीकृत गरी अहिलेको धरहरा परिसर विकास गरिएको हो ।

वि.सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापा ले आफ्नी रानी त्रिपुरा सुन्दरीदेवीको स्मृतिमा धरहरा निर्माण गर्न लगाएका थिए । २०७२ साल बैशाख १२ गतेको भूकम्पमा धरहरा पूर्ण रूपमा ध्वस्त हुँदा १५५ जनाले ज्यान गुमाएका थिए । यसअघि १९९० सालको महाभूकम्पले पनि धरहरालाई क्षति पुर्‍याएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले साविक स्वरूपमै ९ तलाको धरहरा पुनर्निर्माण गराएका थिए ।

इतिहासमा धरहरा सामाजिक तथा प्रशासनिक सूचना प्रवाह गर्ने माध्यमका रूपमा पनि प्रयोग हुने गरेको थियो । टुप्पोबाट बिगुल बजाएर सैनिक र निजामती कर्मचारीलाई टुँडिखेलमा जम्मा गराइन्थ्यो । स्थापत्य शैलीका दृष्टिले हिन्दू, मुस्लिम र युरोपेली शैलीको मिश्रण मानिने धरहरा धार्मिक सहिष्णुता र साझा सांस्कृतिक विरासतको प्रतीकका रूपमा चिनिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ