काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले देशमा आयात गर्न प्रतिबन्ध लगाइएका वस्तु भित्रिरहेकामा भन्सार प्रशासनमाथि प्रश्न उठाएका छन्।
भन्सार विभागले ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार गरेको कार्यक्रममा खनालले आयात गर्न प्रतिबन्धित वस्तु कसरी भित्रिरहेका छन्? भनी प्रश्न गरेका हुन्।
उनले अर्थतन्त्रमा सुधारका लागि आन्तरिक उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको भन्दै आयातमा आधारित उपभोगलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने बताए।
उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने नीतिको आवश्यकता औंल्याए।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। अब क्यूआर कोडसहितको उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी हुनेछ।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले भन्सार क्षेत्रमा केही व्यावहारिक सुधार आवश्यक रहेको बताए।
फरक–फरक भन्सार कार्यालयबीच हुने मूल्याङ्कनमा एकरूपता नहुँदा समस्या देखिएकाले अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया