+
Search

ताजा अपडेट +

पपुलर +

इन्टरनेटमा सीमित गरेर कुनै पनि भूगोल बुझ्न सकिँदैन : बालेन शाह

पालिका लाइभ
२०८२ माघ १०, शनिबार

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताएका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।

स्थानीयसँगको संवादमा शाहले कुनै पनि जिल्लालाई रिपोर्ट, किताब वा इन्टरनेटमा मात्र सीमित गरेर बुझ्न नसकिने बताए ।

उनले तेह्रथुमको भूगोल, हावापानी र यहाँका जनजीवनलाई प्रत्यक्ष महसुस गरेपछि मात्र वास्तविक समस्या चिन्न सकिने बताए । ‘तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपिडियामा पनि भेटिन्छ’, उनले भने, ‘तर यहाँ आएर यहीको माटोमा बसेर, यहीँका मान्छेसँग कुरा गरेपछि मात्र त्यो ठाउँको वास्तविकता बुझिन्छ । भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिको आधार चाहिन्छ ।’

उनले इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै ठूला र अव्यवहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने काममा जोड दिनुपर्ने धारणा राखे । तेह्रथुमको कृषि उत्पादन क्षमताको प्रशंसा गर्दै उनले उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर रहेको समस्या मुख्य चुनौतीका रूपमा औंल्याए ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका शाह पूर्वी नेपाल केन्द्रित चुनावी अभियान अन्तर्गत इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुम आइपुगेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ