+
Search

ताजा अपडेट +

पपुलर +

भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन शाह

पालिका लाइभ
२०८२ आश्विन २१, मंगलवार

काठमाडौं– भदौ २४ गते देशव्यापीरुपमा भएको विध्वंसकारी घटनाहरुमा आरोपित गरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले करिब एक महिनापछि मुख खोलेका छन् ।

काठमाडौंका महत्वपूर्ण सम्पदाहरु जलिरहँदा महानगरको दमकल नपठाएको आरोप अस्वीकार गर्दै उनले फेसबुकमा लामो प्रष्टीकरण लेखेका हुन् ।

बालेनले आन्दोलनकारीको अवरोधका कारण सिंहदरबारमा समयमै दमकल पठाउन नसकेको बताएका छन् ।

हेर्नुस बालेनको स्टाटस :

‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो?” “तीन दिनसम्म जलेको हेरेर बस्यो?’

‘सिंहदरबार जलाउने नै बालेन शाह हो!’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्।

हुन त यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवश्यक जो सुकैले सूचनाको हक (Right to information RTI) को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दै छु।

गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौँ त्यो बेला “राज्य” नै ठप्प थियो।त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडाैं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन ।

सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो। न सरकार थियो, न सुरक्षा संयन्त्र , न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो। सवारीसाधन आवतजावतको त कुरै छाडौँ मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तर पनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क संकलन,जलेका गाडीहरूको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरू संगको समन्वयमा व्यस्त थियो। जिउ ज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछु।

सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन,कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो।
हामी कुनै आरोपबाट भाग्दैनौँ, जिम्मेवारीबाट त अझै होइन।

काठमाडाैं महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरी जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन्। १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिम ले ३ सिफ्ट मा काम गर्नुहुन्छ , १ सिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्ति मार्फत दमकल सञ्चालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबार मात्रै होइन, काठमाडौं मात्रै होइन, सिङ्गो देश जल्दै थियो । महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।

अब कुरा गरौँ दमकल को ५/२३ गते दिउसो १:३० देखि ५ बजे सम्म संसद् भवन अगाडी आगो लागिरहेको एम्बुलेन्स मा न्युरोड र रामहिटी दमकल ले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो, २४ गते बिहानै देखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन, २४ गते राति ८ बजे देखि १ बजे सम्म विशाल बजार जनसेवा प्रहरी वृत्त , हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वोर मा मा न्युरोड दमकल ले तथा नयाँ बसपार्क मा बालाजु र रामहिटी दमकल ले आगो निभाई रहेको थियो।

२४ गते नै राति ८:१५ देखि ९:४५ सम्म, २४ गते को राति २५ गते बिहान १:४५ देखि ३:०० बजे सम्म, २६ गते दिउसो ३:३० देखि ६:५० सम्म र सोही दिन साँझ ५ बजे देखि ६ बजे सम्म सिंहदरबार मा आगो निभाइरहेका थिए।२५ गते दिउसो १२:२० देखि १:३० सम्म संसद् भवन, २५ गते नै दिउसो ३:३० देखि ४:३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९:२५ देखि १०:१५ सम्म, २७ गते बिहान ८:०० देखि ९:१५ सम्म, सोही दिन साँझ ४ बजे देखि ६ बजे सम्म सर्वोच्च अदालत परिसर मा आगो निभाएको त्यहाँको महत्त्वपूर्ण कागजहरू बचाएको प्रमाण हामी सङ सुरक्षित नै छ ।

त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गते देखि २८ गते सम्म हाम्रो दमकल माथि उल्लेखित र काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय,बबरमहल जिल्ला अदालत, चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, सहरी विकास विभाग, ग्राण्डि अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एन सेल डाटा सेन्टर, बालाजु प्रहरी वृत्त, स्वयम्भू प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वोर घर मा, चाक्सीबारी घर मा, बालुवाटार भाट भटेनी गोदाम मा, रानीपोखरी प्रहरी, कोटेश्वोर भाटभटेनी, गुणस्तर विभाग भाटभटेनी नक्साल मन्दिर पछाडि फर्निचर, सडक विभाग लगायतका स्थान मा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको विस्तृत विवरण यही राखेको छु। सँगसँगै हिल्टन होटल, बनबासा होटल लगायतबाट सेना समेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।

अब कुरा गरौँ स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरूको लास व्यवस्थापनको, संघिय सरकारले घोषणा गर्नु पूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललाई निःशुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन , बिरामी तथा बिरामी कुरुवाहरूको लागि निःशुल्क खाजा/खाना, अन्य आवश्यक लजिस्टिक,सुत्नको लागि म्याट लगायत अन्य सामाग्रीको व्यवस्थापन मा महानगरको सचिवालय,नगर प्रहरी, स्वास्थ्यकर्मी लगायत को टिम रात दिन खटिएको थियो।उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो यती सम्म कि, अपरेसन गर्दा Informed Consent Formमा समेत हाम्रो नगर प्रहरी ले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ।लास व्यवस्थापन को लागि परिवार लाई आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगर ले गरेको थियो , यतिसम्म कि नेपाली सेना लगायत अन्यको सहकार्यमा लासलाई घर सम्मै पुर्‍याउने व्यवस्था समेत गरेका थियौ।

अन्त्यमा, प्रिय आमा बुवा,दाजु भाइ, दिदी बहिनी, तपाईँहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरू सङ सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ। मिडियाका मित्रहरूमा विशेष अनुरोध ; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।

हामी महानगरको टिम दिन–रात, जिउ ज्यानको जोखिम मोल्दै खटिएका थियौ ,मलाई यसको कुनै जस चाहिएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस् । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि हामी सधैँ खटिरहनेछौँ।

सत्य बुझौँ, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔँ।

अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको हैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ