+
Search

ताजा अपडेट +

पपुलर +

दूधपोखरीकुण्ड:

दूधपोखरीकुण्डमा जल सतह घट्दै गएकामा स्थानीयको चिन्ता

उनका अनुसार पदयात्रा पर्यटनलाई अगाडि बढाउन प्राचीन नुन बोक्ने बाटो, भेँडीगोठ जाने मार्ग र विभिन्न गाउँहरूबाट जोडिएका पुराना पैदल मार्गहरूलाई सम्पदा मार्गका रूपमा पुनः स्थापित गरिँदै छ।

पालिका लाइभ
२०८२ असार ८, आईतवार

लमजुङ– मर्स्याङ्दी गाउँपालिकास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल दूधपोखरीकुण्डमा जल सतह घट्दै गएको छ, जसले यहाँको सौन्दर्य र धार्मिक महत्वमा प्रत्यक्ष असर पार्न थालेको स्थानीयको चिन्ता छ।

समुद्री सतहबाट चार हजार ६०० मिटर उचाइमा अवस्थित यो कुण्ड हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्त पवित्र मानिन्छ, जहाँ जनैपूर्णिमाका अवसरमा विशेष मेला लाग्ने गर्दछ।

पथप्रदर्शक गंगा घलेका अनुसार विगतमा भरिभराउ रहने कुण्डको पानी पछिल्लो केही वर्षयता लगातार घटिरहेको छ। उनले भने, ‘मैले २०४४ सालदेखि हालसम्म २३ पटक यो कुण्डमा पुगेको छु, अहिलेको जल सतह अघिल्ला वर्षहरूको तुलनामा झन्डै ५० प्रतिशतले घटेको देखिन्छ।’

उनका अनुसार कुण्डको उत्तरतर्फबाट हिउँको पहिरो खस्ने सम्भावनाले पनि कुण्ड पुरिने खतरा बढाएको छ, भने वातावरणीय तापमान वृद्धि र पिँधबाट पानीको निकासले समेत जल घट्दै गएको हो।

धार्मिक मान्यताअनुसार यो कुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। त्यही कारण देशका विभिन्न भागहरू  लमजुङ, गोरखा, तनहुँ, कास्की, चितवन, काठमाडौंलगायत स्थानबाट भक्तजनहरू यहाँ आउने गर्छन्। पथप्रदर्शक घलेका अनुसार कास्कीको सिक्लेस, ताङतिङ, लमजुङको घलेगाउँ, घनपोखरालगायत क्षेत्रबाट तीन दिनको पदयात्रा गरेर दर्शनार्थी कुण्ड पुग्ने गरेका छन्। यस कुण्डमा स्नान गरेपछि भारतको काशी धाम जान नपर्ने विश्वासले समेत यहाँको धार्मिक महत्त्व अझ बढाएको छ।

धार्मिक महत्त्वसँगै दूधपोखरी पर्यटकीय सम्भावनाले भरिपूर्ण स्थान पनि हो।

मनासलु र हिमालचुली हिमालको काखमा रहेको यो तीर्थस्थललाई पदयात्रा पर्यटनसँग जोड्दै विकास गर्ने प्रयास भइरहेको छ। गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा गुरुङ सम्पदा पदमार्गका संयोजक बोबरजङ गुरुङले दूधपोखरीलाई ‘गुरुङ सम्पदा पदमार्ग’मा समेट्दै विकास र प्रवर्द्धनको काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार पदयात्रा पर्यटनलाई अगाडि बढाउन प्राचीन नुन बोक्ने बाटो, भेँडीगोठ जाने मार्ग र विभिन्न गाउँहरूबाट जोडिएका पुराना पैदल मार्गहरूलाई सम्पदा मार्गका रूपमा पुनः स्थापित गरिँदै छ।

संघको आयोजनामा हालसम्म तीन चरणमा खोज तथा प्रवर्द्धनात्मक पदयात्रा सम्पन्न भइसकेको छ। पहिलो चरणमा कास्कीको ताङतिङबाट दूधपोखरी हुँदै मनाङको तिमाङसम्म, दोस्रो चरणमा सिक्लेस, कफुचे, कोरी, क्होलासोँथर, कपुँडाँडा हुँदै याङ्जाकोटसम्म पदयात्रा गरिएको थियो। हालै सम्पन्न तेस्रो चरणमा लमजुङको सिङ्दी, पसगाउँ, भुजुङ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङसम्मको पदयात्रा गरिएकाले मार्गको सम्भाव्यता र प्रवर्द्धन थप बलियो बनाइएको संघकी अध्यक्ष किसमकुमारी गुरुङले जानकारी दिइन्।

उनका अनुसार सन् २०२६ देखि ‘गुरुङ सम्पदा पदमार्ग’लाई औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पदमार्गसँगै धार्मिक स्थलहरूको संरक्षणमा पनि बल दिनुपर्नेमा उनले जोड दिइन्।

दूधपोखरीकुण्डको जल सतह घट्दै जानु केवल वातावरणीय चुनौती मात्रै नभएर धार्मिक र सांस्कृतिक धरोहरहरूमाथिको प्रत्यक्ष संकट हो। पथप्रदर्शक विकास गुरुङले कुण्डको संरक्षण र प्रवर्द्धनसम्बन्धी तत्काल पहल आवश्यक रहेको औँल्याए।

उनले भने, ‘दूधपोखरीकुण्डको धार्मिक महत्त्वलाई जीवन्त राख्न, यसलाई संरक्षण गर्नु र पदमार्गका पूर्वाधार विकास गर्नु अहिलेको जरुरी कार्य हो। यदि सम्बद्ध निकायले समयमा पहल गरेन भने यो अमूल्य सम्पदा गुम्न सक्ने खतरा छ।’

स्थानीयवासी, पर्यटक, पथप्रदर्शक र धार्मिक अभियन्ताहरूको साझा आवाज अहिले एउटै छ- दूधपोखरीकुण्डको संरक्षण, प्रवर्द्धन र निरन्तरता सुनिश्चित गरिनुपर्छ। जलवायु परिवर्तनका असरहरू सामना गर्न वैज्ञानिक अध्ययन, वातावरणमैत्री पूर्वाधार निर्माण र स्थानीय समुदायको सहभागितामा दीर्घकालीन समाधान खोजिनु आवश्यक देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ