चितवन– भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा पुँजीगत खर्च ३४ प्रतिशत र चालु खर्च ५८ प्रतिशत मात्रै भएको छ ।
महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले दिएको जानकारी अनुसार वैशाख मसान्तसम्म चालु आर्थिक वर्षको संशोधित पुँजीगत खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत मात्रै पुँजीगत र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत चालु खर्च भएको हो ।
गत वर्ष यही अवधिमा पुँजीगत खर्च २९ प्रतिशत र चालु खर्च ५७ प्रतिशत भएको थियो । गत आर्थिक बर्ष महानगरको पुँजीगत खर्च ५६ प्रतिशत र चालु खर्च ८६ प्रतिशत भएको थियो ।
महानर प्रमुख रेनु दाहालले पुँजीगत खर्च चालु आवमा ७० प्रतिशत पुग्ने अपेक्षा गरिएको बताइन् । ‘फिल्डमा काम भैरहेको छ, भुक्तानी नभएको कारणले पुँजीगत खर्च नबढेको जस्तो देखिएको हो’ उनले भनिन्, ‘सबै भुक्तानी दिँदासम्म पुँजीगत खर्च बढेर जान्छ ।’
उनले विगतमा भन्दा पुँजीगत खर्च बढाउने प्रयास गरिएको बताइन् । पहिलो चौमासिकमा लागत इष्टिमेट, दोस्रो चौमासिकमा टेण्डर र सम्झौता र कामको तयारी गर्नुपर्नेमा सधैं अनेक कारणले ढिला हुने र गर्ने चलन रहेको नगरप्रमुख दाहालले बताइन् ।
बर्खा लागेपछि काम सक्ने र हतार गर्ने आम प्रवृतिमा सुधार अझै नभएको उनको धारणा छ । ‘हामीले यसलाई सच्चाउन त प्रयास गरेका छौं, तर अझै पूर्णरुपमा सकिएको छैन’ उनले भनिन्, ‘यो कानुनी समस्या भन्दा पनि प्रवृत्तिगत र व्यवहारिक समस्या हो । यसलाई तोड्ने कोसिस जारी छ ।’
महानगरले चालु आर्थिक बर्षमा १ अर्ब ८० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको वैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ रुपैयाँ राजश्व उठाइसकेको छ ।

चालु आवको बाँकी दुई महिनामा ८० करोड मध्ये ५० करोड राजश्व उठाउने लक्ष्यका साथ काम भैरहेको उपनिर्देशक अर्यालले जानकारी दिए । महानगरपालिकाले राजश्व उठाउन ठूला करदाता युनिट पनि गठन गरेको छ ।
मालपोत कार्यालय चनौली र महानगरबाट ७८ करोड राजश्व आउनुपर्नेमा हालसम्म ३८ करोड आएको र बाँकी रकम आउन बाँकी रहेको उपनिर्देशक अर्यालले जानकारी दिए ।
गत वर्ष यही अवधिमा ९६ करोड २ लाख ७३ हजार राजश्व संकलन भएको थियो । चालु वर्षमा ढुंगा, गिट्टी र बालुवाको ३ करोड, विभिन्न धरौटी तथा जमानत जफत वापतको रकम पनि राजश्व खातामा दाखिला गर्न बाँकी रहेकाले राजश्व बढ्ने उपनिर्देशक अर्यालले बताए ।
२९ वडा रहेको महानगरमा सबैभन्दा बढी राजश्व उठ्ने वडा नं. ३ हो । नारायणगढ बजार क्षेत्रसमेत पर्ने यो वडाले वार्षिक ३ करोड ५० लाख भन्दा बढी राजश्व उठाउँछ । त्यसपछि दोस्रोमा वडा नं. १० र तेस्रोमा वडा नं. १ रहेका छन् । सबैभन्दा कम राजश्व वडा नं. २४ ले उठाउने गरेको छ ।
सूत्रका आधारमा वडालाई बजेट दिइने
महानगरले गत वर्षदेखि विभिन्न सूचकहरुलाई समेटेको आन्तरिक मूल्याङ्कन सूत्रका आधारमा वडाहरुमा बजेट पठाउने गरेको छ । चालु आर्थिक वर्षमा ८ वटा सूचकका आधारमा बजेट विनियोजन गरिएको र आगामी वर्षमा पनि सोही आधारमा नै हुने महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।
हरेक वडालाई न्यूनतम बजेटको सिलिङ राखेर त्यसभन्दा बढी बजेट सूत्रका आधारमा दिइने नियम बनाइएको छ । राजश्व उठाउन गरेको प्रयास, पुँजीगत खर्च, पुँजीगत विनियोजन, शिक्षा, हरियाली तथा वातावरण, असल अभ्यास जस्ता सूचकहरूका आधारमा वडालाई बजेट विनियोजन गर्न थालिएको छ ।
प्रतिक्रिया