+
Search

ताजा अपडेट +

पपुलर +

विपद्पछि पुनर्निर्माणको चक्रबाट निस्कौँ, विकासको ढाँचा पुनर्लेखन गरौँः कानूनमन्त्री गौतम

फाइल तस्बिर
पालिका लाइभ
२०८३ भाद्र १६, मंगलवार

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् ।

देशका विभिन्न ठाउँका पछिल्ला विनाशकारी विपद्लाई स्मरण गर्दै गौतमले अब परम्परागत शैलीको निर्माणले मात्रै मुलुकको भविष्य सुरक्षित नहुने तर्क गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले विगत १२–१३ वर्षयता जुरे पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, सोलुखुम्बुको थामेमा आएको लेदोसहितको बाढीदेखि हालै रसुवामा भएको विनाशसम्मको फेहरिस्त प्रस्तुत गरेकी छन् ।

नेपालले विश्वको कार्बन उत्सर्जनमा न्यून योगदान पुर्‍याए पनि जलवायु परिवर्तनको सबैभन्दा ठूलो र असमान मूल्य चुकाउनु परिरहेको उनको भनाइ छ ।

सोविता लेख्छिन्, ‘विश्वको विकास र विलासिताबाट सिर्जित जलवायु संकटको मूल्य नेपालजस्ता मुलुकले आफ्ना नागरिक, बस्ती र अर्थतन्त्र गुमाएर चुकाइरहेका छन् ।’

विपद्का कारण एउटा परिवारले घर मात्र नभई जीवनभरको कमाइ र एउटा समुदायले विकासका आधारभूत पहुँच ‘शिक्षा, स्वास्थ्य, सडक) समेत गुमाउँदा समाज पटकपटक शून्यबाट सुरु गर्न बाध्य भएको प्रति उनको चिन्ता छ ।

मन्त्री गौतमले अब ‘भत्किएको फेरि कसरी बनाउने ?’ भन्ने प्रश्नमा मात्र सीमित नभई ‘बनाउँदा विपद् सहन सक्ने गरी कसरी बनाउने ?’ भन्ने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । अबको विकासमा जोखिमयुक्त नदी किनार र भिरालो जमिनमा घर बनाउने परम्परागत सोच त्याग्नुपर्ने बेला आएको उनको भनाइ छ ।

कानून सुधार समितिमा आफूले यो विषय गम्भीरताका साथ उठाएको भन्दै उनले लेखेकी छन्, ‘विपद् र जलवायु उत्थानशीलतालाई अब कानून र नीतिको एउटा सानो विषय मात्र बनाएर पुग्दैन । यसलाई हरेक विकाससम्बन्धी कानून, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनुपर्छ ।’

मन्त्री गौतमले सुरक्षित भूउपयोग, एकीकृत र योजनाबद्ध बस्ती, सुरक्षित विद्यालय तथा अस्पताल र जलवायु अनुकूल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै आवश्यक ठाउँमा योजनाबद्ध पुनर्वासको सोचसहित अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

‘हामी नदी रोक्न सक्दैनौँ। हिमाल र हिमनदीलाई नियन्त्रण गर्न सक्दैनौँ। विश्वव्यापी जलवायु परिवर्तन एक्लैले रोक्न पनि सक्दैनौँ । तर त्यसको सामना गर्न सक्ने नेपाल भने बनाउन भरपुर प्रयत्न गर्न सक्छौँ,’ उनले भनेकी छन्, ‘अब विपद्पछि पुनर्निर्माण गर्ने पुरानो चक्रबाट निस्केर नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ