+
Search

ताजा अपडेट +

पपुलर +

बाढी पीडितका लागि चीनले दियो ३० करोड रुपैयाँ, राजदूतले अर्थमन्त्रीलाई हस्तान्तरण गरे चेक

पालिका लाइभ
२०८३ भाद्र १५, सोमबार

काठमाडौं– चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको करिब ३० करोड रुपैयाँ बराबरको नगद सहयोग हस्तान्तरण गरेको छ।

आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २० लाख अमेरिकी डलर अर्थात् झन्डै साढे ३० करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगदसमेत हस्तान्तरण गरे।

सहयोग रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको ठूलो विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। नेपालमा आएको विपत्तिप्रति चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको जानकारी दिँदै उनले चीन सरकारले उपलब्ध गराएका अन्य प्रकारका सहयोग पनि नेपाल भित्रिन थालेको बताए।

राजदूत माओमिङका अनुसार आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायत सहायता सामग्री काठमाडौं ल्याएका छन्। थप सहयोग पनि निरन्तर गरिने उनले बताए।

nimb
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाकाबाट नेपाल फर्काउन पहल भइरहेको जानकारी पनि राजदूत माओमिङले अर्थमन्त्रीलाई गराए।

जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको उनले बताए। थप केही दक्ष उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेको जानकारी उनले दिए।

नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको पनि राजदूत माओमिङले जानकारी गराए।

नेपाल सरकारको तर्फबाट सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिरहेको नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।

विपत्तिका कारण दुवै मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गरे। बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरे।

विश्वको बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रका मुलुकले व्यहोर्नुपर्ने विनाशकारी क्षतिको सुरुवात भएको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले यसको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताए।

यसपटकको बाढीबाट नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा रहेको पनि उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ