काठमाडौ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाइने भएको छ। यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्ष तहमा छलफल भइसकेको छ।
उनका विषयमा बाहिर आएका विवादले पार्टीले ‘रीकल’ गर्न लागेको एक नेताले बताए। साहको विगतको पृष्ठभूमि र पछिल्लोपटक श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा अनधिकृत रूपमा निरन्तरता दिन लगाएको विवादित विषय बाहिर आएका थिए।
प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको सल्लाहपछि साहलाई फिर्ता बोलाउने तया भएको स्रोतको भनाइ छ।
श्रममन्त्री बनाइएका साह २०७३ सालमा उनी ठगी कसुरमा पक्राउ परेका थिए। २०७३ असोज १३ गते तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कन्सल्टेन्सी सञ्चालक महोत्तरीको गोनरपुरा घर भएका दीपककुमार साह र काउन्सिलिङको काम गर्ने सिन्धुली आम्बोटेका गणेश अधिकारीलाई पक्राउ गरेको थियो। उनलाई असोज १२ गते पक्राउ गरिएको थियो।
फागुन २१ गते भएको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्।
३२ हजार ७२२ मत ल्याएर साह निर्वाचित हुँदा शरत सिंह भण्डारीले १० हजार १९८ मत पाएका थिए।
प्रतिक्रिया