काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्। दुई दिने संसदीय अभ्याससम्बन्धी प्रशिक्षणको समापन गर्दै उनले अबको पाँच वर्ष रास्वपाका लागि परीक्षणको समय भएको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले जनताले पुराना राजनीतिक दलहरूलाई दसकौँ समय दिएको भए पनि रास्वपालाई त्यति समय कुर्न तयार नरहेको स्पष्ट पारे। उनले भने, पुरानालाई ३०–३५ वर्ष पर्खिएको जनता अहिले ३६ महिना त परै जाओस्, ३६ दिन पनि पर्खने अवस्थामा नरहेको भन्दै समयमै नतिजा दिन नसके तत्काल हिसाब मागिने चेतावनी दिए।
लामिछानेले पार्टीभित्र अनुशासन कायम गर्न ‘राइट टु रिकल’ व्यवस्था कडाइका साथ लागू गरिने बताए। सांसदहरूलाई पार्टीको नीति र नियमभित्र रहेर काम गर्न र अराजक गतिविधिबाट टाढा रहन उनले सचेत गराए। साथै, सरकारी सेवाको गुणस्तर सुधार्न जनप्रतिनिधिहरूले नै सरकारी अस्पताल प्रयोग गर्नुपर्ने बताउँदै आकस्मिक अवस्थाबाहेक सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरे।
उनले सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमै सीमित नभई समग्र देशको विकासमा केन्द्रित हुन निर्देशन दिए। कुनै एक क्षेत्रमा मात्र बजेट केन्द्रित गर्ने प्रवृत्तिले अन्य क्षेत्रलाई अन्याय हुने भन्दै सन्तुलित विकास आवश्यक रहेको बताए।
नेपाली राजनीतिमा बिचौलियाको प्रभाव बढ्दो रहेको उल्लेख गर्दै उनले सांसदहरूलाई कुनै पनि स्वार्थ समूह वा बिचौलियाबाट टाढा रहन आग्रह गरे। मन्त्री बन्नका लागि ‘मिडिया ट्रायल’ वा कुनै प्रकारको दबाब समूहको सहारा नलिन पनि उनले स्पष्ट निर्देशन दिए।
सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा अभिव्यक्ति दिँदा संयम अपनाउनुपर्नेमा जोड दिँदै उनले सांसदहरूको बोलीले देशको वैदेशिक सम्बन्धमा समेत असर पार्न सक्ने भएकाले जिम्मेवार हुनुपर्ने बताए।
लामिछानेले पार्टीमा केही समुदायको प्रतिनिधित्व कमजोर रहेको स्वीकार गर्दै आगामी दिनमा समावेशितालाई थप सुदृढ गर्ने प्रतिबद्धता जनाए। साथै, पुराना राजनीतिक दल र नेताहरूको योगदानको सम्मान गर्नुपर्ने उल्लेख गर्दै उनीहरूले गरेको त्यागलाई नजरअन्दाज गर्न नहुने बताए।
उनले सांसदहरूलाई विपक्षी दलप्रति अनावश्यक कटाक्ष नगर्न निर्देशन दिँदै विजेता हुनुको अर्थ जिम्मेवार हुनु भएको उल्लेख गरे। रास्वपामाथि अराजकताको छवि लागेको भन्दै त्यसबाट बाहिर निस्कनुपर्ने आवश्यकता औँल्याए।
उनले यो जित रास्वपाको मात्र नभई सिंगो देशको भएको उल्लेख गर्दै आगामी पाँच वर्षमा सुशासनको नयाँ मानक स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया