+
Search

ताजा अपडेट +

पपुलर +

अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती छन्: अर्थमन्त्री खनाल

पालिका लाइभ
२०८२ चैत्र ४, बुधबार

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती रहेको बताएका छन्।

बुधवार नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको बताएका हुन्। बैंकमा रहेको ठुलो परिमाणको निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा लगानी हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या बनेको उनको भनाइ थियो।

‘अहिले मुलुकका सामु सूचकहरूले सकारात्मक अवस्था देखाए पनि ठूला चुनौतीहरू छन्। हामीसँग रहेको निष्क्रिय पुँजीलाई उत्पादनशील काममा लगानी गर्न सकेका छैनौँ,’ उनले भने, ‘मध्यपूर्व र खाडी मुलुकमा आएको संकटका कारण हाम्रो आपूर्ति शृङ्खला अवरुद्ध हुने र कतिपय आयात गर्ने वस्तुहरूको मूल्य बढ्न जाने र त्यस गर्दा हाम्रो औद्योगिक उत्पादनसँगै अर्थतन्त्रको लागत पनि बढ्न जाने सम्भावना देखिएको छ।’

मध्यपूर्व र खाडी मुलुकमा देखिएको संकटका कारण नेपालको आपूर्ति शृङ्खला अवरुद्ध हुने र आयातित वस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको पनि उनले बताए। यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्न सक्ने बताउँदै त्यसप्रति सबै पक्ष सचेत हुन आवश्यक रहेको औँल्याए।

‘हामी सबै सचेत हुन जरुरी छ। कतिपय कुरामा द्रुत गतिले निर्णय गर्नुपर्नेछ,’ उनले भने, ‘हामी सरकार परिवर्तनको संघारमा छौँ। मलाइ विश्वास छ, शक्तिशाली बहुमतसहित आएको आगामी सरकारले बाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्दै अघि बढ्नेछ।’

मुलुक अहिले सरकार परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आउने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्दै अर्थतन्त्रलाई अघि बढाउने विश्वास व्यक्त गरे। अहिले समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक अवस्था देखिएको उनले बताए।

नेपालमा शोधनान्तर बचतमा रहेको, चालु खाता पनि बचतमा रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र मुद्रा स्फीति दर कम रहेको जस्ता सूचकहरू सुधारका संकेत भएको उनको भनाइ थियो।

‘समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक संकेत देखिएको छ। खासगरी शोधान्तर बचतमा छ, चालु खाता बचतमा छ, विदेशी मुद्राको सञ्चिति राम्रो छ। मुद्रा स्फ्रीतिको दर कम छ। नेपाल सरकारको राजश्वको वृद्धिदर कम्तीमा ४ प्रतिशत पुगेको छ। लक्ष्यको तुलनामा करिब ८३ प्रतिशत संकलन भएको छ । केही सुधार भएको छ तर यो पर्याप्त छैन,’ खनालले भने।

मुलुकमा पर्याप्त रोजगारी सिर्जना नहुँदासम्म, निष्क्रिय पुँजी उत्पादनशील क्षेत्रमा परिचालन नहुँदासम्म, लगानीकर्ताको हातमा पुँजी पुग्ने वातावरण सहज नहुँदासम्म र लगानीकर्तामा आत्मविश्वास नबढेसम्म केवल सकारात्मक सूचकका आधारमा मात्र सन्तुष्ट हुन नसकिने उनको भनाइ थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ