काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ। ग्वार्कोस्थित होटल रोयल दुलिपमा आयोजित कार्यक्रममा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार दुई दिनसम्म सञ्चालन हुने तालिममा सांसदहरूलाई संसदीय अभ्यास, संसद्को कार्यप्रणाली, नीति निर्माण प्रक्रिया तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी दिइनेछ। साथै पार्टीको भावी नीति र प्राथमिकताबारे पनि छलफल हुने बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ उल्लेख्य सिट जित्दै राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति बलियो बनाएको थियो।
कार्यक्रममा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह कार्यव्यस्तता तथा स्वास्थ्य अवस्थाका कारण उद्घाटन सत्रमा सहभागी हुन नसकेको जानकारी दिइएको छ। उपसभापति अर्यालले समापनअघि उनीहरूलाई कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताएका छन्।
आफ्नै सरकार भए पनि निगरानीमा कमी नहोस्

कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले सत्तामा पुगेपछि पनि आत्मसमीक्षा र निगरानीको भूमिकालाई कमजोर बनाउन नहुने बताएका छन्। उनले सरकार आफ्नै पार्टीको बने पनि गलत निर्णय वा बाटो विचलन भए खुलेर प्रश्न उठाउनुपर्ने धारणा राखे।
वाग्लेले सांसदहरूको मुख्य जिम्मेवारी कानुन निर्माणसँगै सरकारको कामको समीक्षा, अनुगमन र जनउत्तरदायित्व सुनिश्चित गर्नु रहेको उल्लेख गरे। उनले जनताको मुद्दालाई सशक्त रूपमा संसद्मा उठाउन, नीति बहसलाई केन्द्रमा राख्न र विकास तथा सामाजिक–आर्थिक सवालमा सक्रिय हुन निर्देशन दिए।
उनका अनुसार रास्वपाले ‘थिति बसाल्ने’ संकल्पसहित जनताबाट अभूतपूर्व समर्थन प्राप्त गरेकोले अब परिणाममुखी काम गरेर विश्वास कायम गर्नुपर्ने चुनौती रहेको छ।
प्रतिक्रिया